सात कक्षामा पढ्ने नेपाली विद्यार्थीले बनाए यस्तो हेलिकप्टर

काठमाण्डु टुडे २०७१ पुष १५ गते ७:१५ मा प्रकाशित

GL_Ilam_Helicopter Udaudai Student

इलाम, १५ पुस–इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन् ।

कक्षा सातमा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन् । हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए ।

हेलिकप्टरका मुख्य निर्माता रेहान्स झाले भने ‘दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकप्टरको सफल परीक्षण गरियो, यसलाई थप विकास गर्दै लैजाने सोचमा छौँ ।’

सानैदेखि विभिन्न खालका विद्युतीय सामग्री निर्माणमा तीष्ण रहेका रेहान्सले यसअघि पनि पेरिस्कोप, क्विज कम्प्युटरलगायतका विद्युतीय सामग्री निर्माण गरिसकेका छन् । उनीहरूले निर्माण गरेका सामग्री सदरमुकाममा हुने शैक्षिक सामग्री प्रदर्शनीमा समेत राखिँदै आएको छ ।

हेलिकोप्टर बनाउनुभन्दा पहिला उनीहरूले रिमोट कन्ट्रोल बनाएका थिए । उनीहरुले बजारमा पाइने खेलौनाको रिमोट कन्ट्रोल, मोटर, घिर्नीको प्रयोग गरी सानो र छरितो खालको हेलिकप्टर बनाएका हुन् ।

सो विद्यालयका विज्ञान शिक्षक नवीन ढकालले भने ‘विद्यार्थीले प्रशंसनीय कार्य गरेका छन्, यसलाई विद्यालयले समेत सहयोग गर्छ, करिब २० मिटर परसम्म उडाउन सकिने हेलिकप्टरलाई पानीमा चल्ने खालको डुङ्गा बनाउने उनीहरूको योजना छ ।’

‘रिमोट कन्ट्रोलमा लाग्ने छवटा ब्याट्री र सुपरग्लुमा विद्यालयले सहयोग ग¥यो तर अरू खर्च आफैँले जुटायौँ ।’ आदित्यले भने ।

केही थप खर्च लागेमा विद्यालयले व्यहोर्ने बताएपछि विद्यार्थी थप हौसिएका हुन् । उनीहरूले बनाएको क्विज कम्प्युटरले तत्कालै सोधेको प्रश्नको उत्तर दिन सक्छ ।

विगतदेखिनै विद्युतीय सामग्रीबाट विभिन्न उपकरण निर्माण गर्दै आएका यी तीन जनाले हेलिकप्टरलाई ठूलो बनाएर बिक्री गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us