सुनसरी, १४ पुस– एमाले अध्यक्ष केपी ओलीले एमाओवादीले जनयुद्धका नाममा भैंसीको पैसा तिर्न नसकेर छिमेकीको हत्या गरेको आरोप लगाएका छन् ।
पार्टीको सुनसरीको क्षेत्र नम्बर–३ ले दुहबीमा गरेको कार्यक्रममा ओलीले विगतमा छिमेकी मार्ने माओवादीले अहिले संविधान निर्माणमा बखेडा झिकेको बताए ।
माओवादी द्वन्द्वकालिन मानसिकताबाट मुक्त हुन नसकेका कारण संविधान निर्माण प्रक्रिया अप्ठेरोमा परेको उनको भनाइ थियो ।
‘माओवादीले विगतमा भैंसीको पैसा तिर्न नसकेपछि छिमेकीको हत्या गरे’, ओलीले भने, ‘अहिले पनि पुरानो बानी गएको छैन, उसको हिंसाको मानसिकताका कारण संविधान निर्माण प्रक्रिया रोकिएको छ ।’
ओलीले एमाओवादी माघ ८ मा संविधान ल्याउन नदिने खेलमा लागेको आरोप लगाउँदै कुनै पनि हालतमा माघ ८ मा संविधान आउने जिकिर गरे । माघ ८ मा संविधान जारी नभए जनतामाथि धोका हुने उनले बताए ।
अर्को एक फरक प्रसंगमा उनले मुलुकले धान्न नसक्ने भएकाले कमभन्दा कम प्रदेश बनाउनुपर्ने बताए । उनले आफूहरु तराईलाई पहाडबाट अलग गर्ने पक्षमा नरहेको उल्लेख गरे ।
ओलीले जातको राज्य ल्याएर माओवादीले मुलुकलाई जातीय द्वन्द्वमा फसाउन खोजेको आरोप पनि लगाए । एमाओवादीले भनेजस्तो संघीयता भए आफ्नो घर भा“डिने उनको टिप्पणी थियो ।
‘मैले पनि अन्तरजातीय विवाह गरेको हुँ’, ओलीले भने, ‘माओवादीले भनेजस्तो जातीय राज्य हुने भो हो भने मेरै घर पहिला भाँडिनसक्छ ।’
र यो पनि पढ्औ