काठमाण्डु, १४ पुस– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति नभए संविधान निर्माणको कार्य प्रक्रियामा जाने बताएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा छलफल समाप्त हुँदा पनि दलहरुमा सहमति नभएमा सभाको नियम, प्रचलन र प्रक्रियाअनुसार कार्य हुने नेम्वाङले बताएका हुन् ।
संविधानसभाको आजको बैठकमा सभासद्ले सभाध्यक्षले भूमिका खेल्न पटकपटक ध्यानाकर्षण गराएपछि संक्षिप्तमा स्पष्ट पार्दै उनले अन्तिममा प्रक्रियाअनुसार अघि बढ्ने जानकारी गराएका हुन् ।
विगत दश दिनदेखि संविधानसभाको बैठकमा देखिएको यो शृङ्खला आजको बैठकमा पनि जारी रह्यो । प्रमुख दलका शीर्ष नेताका बीचमा छलफल चलिरहे पनि संविधानका विवादित अन्तरवस्तुमा सहमति हुन नसक्दा संविधानसभा दिशाहीन भएको हो ।
आजको बैठकमा बोल्ने सभासद्ले पनि शीर्ष नेताले शीघ्र सहमति गर्नुपर्ने अन्यथा सभाले प्रक्रियाबाट निर्णय गर्न पाउनुपर्ने माग गर्दै संविधान दिन नसके आफूहरू नालायक र कलङ्कित सावित हुनेतर्फ ध्यानाकर्षण गराए ।
एमालेका सुरेन्द्रप्रसाद पाण्डेले दोस्रो संविधानसभाको निर्वाचन गर्नुपूर्व निर्वाचनको परिणामलाई परवाह नगरी एक वर्षभित्र संविधान ल्याउने प्रतिबद्धता गरिएको सन्दर्भ उल्लेख गर्दै बचन एउटा गरेर अर्काे प्रकारको काम गरिएकाले सहमतिमा गाँठो परेको धारणा राखे ।
नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशीले शीर्ष नेताहरुले बन्द कोठामा बसेर गर्ने सहमति आफूहरुले मान्नैपर्छ भन्ने नरहेको जनाउँदै समय धेरै बाँकी नरहेकाले अब जनतामाझ लोगो लगाएर हिँड्न पनि गाह्रो भइसकेको गुनासो गरे ।
उनले बजारमा सामान किन्न जाँदा माघ ८ मा संविधान नदिए त्यसपछि सामान नदिने भनेर दबाब आउन थालेको स्थितिमा आफूहरुलाई लाज लाग्न थालेको बताए । एमाओवादीका राम कार्कीले सहमतिमा संविधान नबनेमा मुलुकमा सङ्कट आउने बताए ।