सेमेस्टर प्रणालीका पक्षमा भाषण गरे प्रधानमन्त्रीले

काठमाण्डु टुडे २०७१ पुष १४ गते ८:१० मा प्रकाशित

काठमाण्डु, १४ पुस– प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले सहयोग गर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको चालिसौं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री कोइरालाले विश्वविद्यालयले लागू गरेको सेमेस्टर प्रणालीका पक्षमा पनि वकालत गरेका छन् ।

Sushil Koirala
विद्यार्थीहरुले सेमेस्टर प्रणाली खारेजको माग गरिरहेकै बेला प्रधानमन्त्रीले भने सेमेस्टर प्रणालीबाटै गुणस्तरीय शिक्षा हासिल हुने दाबी गरेका हुन् । ‘सेमेस्टर प्रणाली सञ्चालन गर्न थालिएको र विश्वविद्यालय प्रवेशका लागि प्रवेश परीक्षा लिने काम थालिएको छ, यसले अझ सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सघाउने छ,’ प्रधानमन्त्रीले भने ।

शिक्षक लगायत अतिआवश्यक भौतिक संरचना नवनिर्माण र प्राज्ञिक तथा व्यवस्थापकीय विकास तथा विस्तार का लागि सरकारले विश्वविद्यालयलाई सहयोग गर्ने कोइरालाले बताएका छन् ।

उनले कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाले नेतृत्व गरेको कांग्रेसको सरकारको पालामा विश्वविद्यालय स्थापना भएको कुरा सम्झन दीक्षित विद्यार्थीलाई आग्रह समेत गरे । पञ्चायतले शिक्षा क्षेत्रको गतिलाई रोकेको र फेरि बहुदल प्राप्त भएपछि उदारीकरणले शिक्षा क्षेत्रलाई अगाडि बढाएको पनि चर्चा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us