गाडी चलाउने महिलालाई आतङ्ककारी बिल्ला !
काठमाण्डु टुडे
२०७१ पुष १० गते १५:३७ मा प्रकाशित

एजेन्सी–साउदी अरेबियाकी एकजना महिलालाई सवारी हाकेको आरोपमा आतङ्कवादी अदालतमा पठाइएको छ ।
साउदी अरेबियामा महिलालाई आफैले सवारी चलाउन अनुमति छैन। उनलाई कानुन विपरीत काम गरेको भन्दै विगतदेखि नै थुनामा राखी अनुसन्धान गरिएको थियो ।
बिहीबार प्राप्त समाचारअनुसार ती महिलालाई सोही आरोपमा नै साउदी अरेबियाकै आतङ्कवादी क्रियाकलाप हेर्ने अदालतमा पठाइएको छ ।
उनलाई आज सो अदालतमा उपस्थित पनि गराइएको समाचारमा जनाइएको छ ।
साउदी अरेबियाको पूर्वी प्रान्त अल आसामा रहेको सो अदालतमा उनको बिहीबार सुनुवाई समेत भएको नाम नबताउने सर्तमा एक मानवअधिकारवादीले जानकारी दिएका छन् ।
लाउजैन हाथलाउल नाम गरेकी ती साउदी महिलाले सवारी चलाएको आरोपमा यही डिसेम्बर १ मा पक्राउ गरिएकाे थियो ।
उनले साउदी अरेबियामा कायम रहेको महिलाले सवारी हाक्न नपाउने प्रावधानको विरोध गर्दै आएकी थिइन् । उनले साउदी अरेबियामा महिला अधिकारका पक्षमा पनि बोल्दै आएकी थिइन् ।
उनले आफ्नो देशको सो कानुनको विरोधमा युनाइटेड अरब इमिरेट्सबाट सवारी हाकेकी थिइन् ।
उनी स्वदेश फर्किएलगत्तै उक्त देशको सीमा नजिकैबाट देशमा विद्यमान कानुनको अपमान गरेको भन्दै पक्राउ गरिएको थियो । उनी हाल थुनामा नै छिन् ।
साउदी अरेबिया नै विश्वको एकमात्र यस्तो देश हो जहाँ महिलालाई सवारी हाक्ने अधिकार छैन । महिलाले निकै लामो समयदेखि नै सो व्यवस्थाको माग गर्दै आएको भएपनि अनुमति दिइएको छैन ।
उनलाई देशभित्र प्रवेश गर्न सघाउनका लागि संयुक्त अरब इमिरेट्सका अर्का एकजना पत्रकार आएका थिए । उनलाई पनि साउदी प्रहरीले प्रक्राउ गरेको छ ।
सो आरोपमा साउदीका दुई जना महिला अधिकारकर्मीलाई पक्राउ गरिएको थियो । अर्का एकजनाको बारेमा तथा आतङ्कवादी अदालतमा पठाइएकी ती महिलाको बारेमा त्यहाँका अधिकारवादीहरुले थप केही बताएका छैनन् ।
उनका वकिलले सो मुद्दाको विरोध गर्दै अपिलमा जाने बताएका छन् । सो घटनाको विरोध सामाजिक सञ्जालहरुबाट व्यापक मात्रामा गरिएको छ ।
पक्राउ परेकी ती महिलाको पक्षमा वकालत गरिएको छ । उनलाई सामाजिक सञ्जाल ट्वीटरमा दुई लाखभन्दा बढीले फलो गरिरहेका छन् ।
एएफपी