
काठमाडौं, ९ पुस– सत्तारुढ दल काँग्रेस,एमालेका नेताहरुले संविधानसभाभित्र र बाहिर रहेका ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन तत्काल फिर्तालिन आग्रह गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले एमाओवादी मोर्चाले घोषणा गरेको आन्दोलनले मुलुकलाई सहमतिभन्दा पनि द्दन्द्ध र मुठभेठमा लैजाने भन्दै आन्दोलन तत्काल फिर्ता लिई सहमतिमा आउन आह्वान गरेका हुन् ।
साक्षात्कारमा नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले एमोआवादी मोर्चाको आन्दोलनले मुलुकमा राजनीतिक ध्रुविकरण बढाउने भन्दै तत्काल आन्दोलन छाडेर वार्ता र सहमतिको टेबलमा आउन आह्वान गरेका गरे ।
नेता केसीले अहिलेको समय एकले अर्कालाई प्रतिकार गर्ने नभएर सहमति खोज्ने वेला भएको भन्दै सबै पक्ष एक ठाउँमा उभिएर वार्ता र छलफल गर्नुपर्ने धाराणा राखे ।
एमालेका नेताशंकर पोखरलेले मोर्चाले तत्काल आन्दोलन फिर्ता लिनुपर्ने बताएका छन् । उनले मोर्चाले आन्दोलन फिर्ता नलिए उसले संविधान बनाउने भन्दा पनि नबनाउने तर्फ उन्मुख रहेको साबित हुने तर्क गरे ।
तर एमाओवादीका नेता अग्निप्रसाद सापकोटाले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले गणितिय दम्भ देखाएर प्रक्रियाबाट संविधानजारी गरे आफूहरु संविधानसभाबाट बाहिरिने चेतावनी दिए ।
सापकोटाले जनतालाई अधिकार दिने कुरामा सत्तापक्षले कन्जुस्याँई गरेको भन्दै उनीहरुले तत्काल आफ्नो निर्णयमा पूर्नविचार नगरे देशले फेरि अर्को कोर्स लिने बताए । सापकोटाले काँग्रेस–एमालेले प्रक्रियाबाट संविधानजारी गरे आफूहरु टुलुटुलु हेरेर मात्रै नबस्ने बरु सशक्त रुपमा प्रतिकारमा उत्रने चेतावनी दिए ।
उनले भने–‘हामीले विधि र प्रक्रियाको विरोध गरेका होईनौं, तर जनताको पूर्ण मुक्ति भन्दामाथि अरु केही हुँदैन । अहिले काँग्रेस एमाले जनतालाई अधिकार दिनुको सट्टा मुलुकलाई पुरानै शासन व्यवस्थामा फर्काउन खोज्दैछन् ।’
सापकोटाले सत्तापक्षले प्रक्रिया र सहमति सँगसँगै लैजान्छौं भन्नु कुतर्क भन्दै आफूहरु जिउँदो रहुन्जेलसम्म कुनै पनिहालतमाआफ्नाएजेण्डाहरुलाई आत्मसमर्पण नगराउने उद्घोष गरेका छन् ।
एमाओवादीसहितको मोर्चाले अघि सारेको आमहड्ताल सहितका विरोधका कार्यक्रमहरु काँग्रेस–एमालेलाई सहमतिको लागि साईजमा ल्याउनका लागि भएको स्पष्ट पार्दै उनले भने, ‘यदि उहाँहरु सहमतिगर्न तयार हुनुहुन्छ भने हामी आन्दोलन गर्दैनौं तर बल काँग्रेस,एमालेको कोर्टमा छ ।’