काठमाण्डु, ९ पुस– एमाओवादीका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली राजाको नयाँ अवतारका रुपमा प्रकट भएको टिप्पणी गरेका छन् ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुधबार सिंहदरवारमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली राजाको नयाँ अवतारका रुपमा प्रकट भएकाले माघ ८ भित्र संविधान बन्ने सम्भावना क्षीण भएको बताएका छन् ।
आफुहरु संविधान निर्माणका लागि हदैसम्म लचिलो भएको तर संसदवादी दलहरुको तर्फबाट ओलीले देखाएको व्यवहार सामान्य नभएको उनको भनाई थियो ।
उनले भने, ‘हामीले राजतन्त्र ढाल्यौं तर ओलीको रुपमा अर्को अवतार जन्मियो अब यसलाई पनि ढाल्न हामी जनताको माझ जान बाध्य छौ ।’
ओलि प्रति निकै आक्रामक देखिएका प्रचण्ड ओलीको रुढीबादी सोच र उनले नेतृत्व गरेको पुरानो सोच नयाँ संविधानको बाधक भएको जिकिर गरे ।
ओलीसँग आफ्नो कुनै व्यक्तिगत दुस्मनी नभएको भन्दै उनले ओलीको सोच र प्रवृत्तिसँगको टकराव भएको स्पष्ट पारे ।
संविधान निर्माणमा देखिएको गतिरोधलाई फुकाउन सहमतीय राजनीतिलाई अगाडी बढाउनुको साटो बहुमतिय खेलमा लागेर सत्तापक्षिय दलहरुले संविधानसभा नियमावलीलाई नै लत्याउन खोजेको उनको धारणा थियो ।
उनले जनताको संविधान लेख्न जनताको ताकत भन्दा ठुलो अर्को कुनै शक्ति नभएको भन्दै त्यसैकारण आफुहरु जनताको माझमा जान लागेको बताए ।
उनले आन्दोलन गर्नु रहर नभई बाध्यता भएको स्पष्ट पार्दै सत्तापक्षिय दलहरुले बलमिच्याइँ गर्न खोजेकाले आफुहरु आन्दोलनमा जानु परेको बताए ।
प्रचण्डले सत्तापक्षिय दलहरुले संविधानसभाका पुराना सहमतीहरुलाई समेत उल्ट्याउदै अगाडी बढेको भन्दै त्यसको प्रतिकार गर्ने बताए ।
एमालेका नेताहरुले जनयुद्ध र मधेस आन्दोलन गर्नेहरुलाई हेरी सकिएको भन्दै संविधान बहुमतिय प्रक्रियाबाट ल्याउने बताएको केही दिनमै प्रचण्डले त्यसको प्रतिकार गर्ने बताएका हुन् ।
उनले जनताको अधिकार कसैले खोस्न नसक्ने भन्दै जनताको अधिकारको पक्षमा माओवादी सहित ३० दल उभिएको बताए ।