काठमाण्डु, ८ पुस– एकीकृत माओवादी नेता राम कार्कीले पार्टीले चुनवाङ बैठकपछि वर्गीय मुद्दा छाडेर जातीय नारालाई प्रधानता दिएका कारण नकारात्मक परिणामले जन्म लिएको बताएका छन् ।
उनले चुनवाङ बैठकपछि पार्टीले लिएको सडक, सदन, सरकार र कुटनीतिक माध्मबाट हस्तक्षेप गर्ने नीतिले पार्टीलाई उत्डीडित वर्गबाट टाढा पुर्याएको भन्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईको पटाक्षेप गरेका छन् ।
नेतृत्वले वर्गको मुद्दा छाडेर जातीय नारालाई मुख्य बनाइएका कारण उत्पीडित जातिभित्रको एउटा तप्काले आफूलाई उक्त जाति वा क्षेत्रको सरदार ठान्न थालेको आरोप कार्कीले गाएका छन् ।
‘एउटा कम्युनिष्ट पार्टीले पहिचानको राजनीतिलाई सर्वस्व बनाएको जस्तो पर्न जाने जुन अवस्था उत्पन्न भएको छ, त्यो डरलाग्दो छ’, एक दैनिक पत्रिकामा उनले लेखेका छन्, ‘वर्गीय अथवा माक्र्सवादी दृष्टिकोणको अभावमा उत्पीडित जातिभित्रका अगाडि बढेको तप्काले आफू सम्बन्धित जाति वा क्षेत्रको सरदार बनेको अभिनय गरिरहेका छन् ।’
कार्कीले नेपालमा पुँजीवाद आएको र अब समाजवादी क्रान्ति गर्ने भन्ने हेटौंडा महाधधिवेशनको कार्यदिशा गलत भएको उल्लेख गरेका छन् ।
‘समाजवादी कार्यक्रमलाई भुत्ते बनाइदिएर ‘सामन्तवाद सकियो, पुँजीवाद आइसक्यो, अब आर्थिक क्रान्तिमा लागौं, राजनीतिक काम सकियो’, भन्न थालेपछि त कम्युनिष्ट आन्दोलनले पशुपतिनाथले मात्र जोगाउन सक्छन्’, उनले भनेका छन् ।
कार्कीले सशस्त्र संघर्षमा ज्यान जाने खतरा हुने र शान्तिपूर्ण संघर्षमा ‘इमान’ जाने खतरा हुने भन्दै पार्टीले उक्त विषयलाई आंकलन गर्न नसकेको बताएका छन् ।
राजनीतिक कार्यकर्तालाई राजनीतिक कार्यक्रम दिनुको साटो बाख्रा र बंगुर पाल्न लगाइएको भन्दै तीव्र असन्तोष प्रकट गरेका छन् । राजनीतिक पार्टीको काम बाख्रा पाल्नेको हितमा काम गर्ने हुनुपर्नेमा कार्यकर्तालाई गोठालो बनाइएको उनको टिप्पणी छ ।
‘राजनीतिक कार्यकर्ताले त राजनीतिक भूमिका खोज्छ । तर राजनीतिक कार्यक्रम माग्न आउनेलाई बंगुर पाल, बाख्रा पाल भनेर पठाउने काम भयो’, उनले अगाडि लेखेका छन्, ‘राजनीतिक पार्टीको काम त बाख्रा पाल्ने, श्रम गर्नेप्रति मैत्रीपूर्ण नीति तथा कार्यक्रम पो बनाउने हो ।’