पाल्पा, ८ पुस–लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडमा दुईपटक शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या बढेको छ ।
अस्पतालमा पत्थरी तथा अन्य सबैखाले शल्यक्रिया गर्न आएका अधिकांश बिरामीले दुईपटक शल्यक्रिया गर्नुपरेको गुनासो गरेका छन् ।
दुईपटक शल्यक्रिया गर्दा अस्पताललाई आर्थिक रुपमा फाइदा हुने, चिकित्सकले कमिसन पाउने साथै सिकारु चिकित्सकको अभ्यास बढी हुने भएकाले जानेर वा नजानेर बिरामीलाई दुईपटक शल्यक्रिया गराउनुपर्ने अवस्था सिर्जना गराउने गरेको आरोप सेवाग्राहीले गरेका छन् ।
सेवाग्राहीले शल्यक्रिया बिग्रिएपछि काठमाडौँ गएर पुन शल्यक्रिया गर्नुपरेको बताउँछन् ।
अस्पतालका चिकित्सकलाई निश्चित प्रतिशत कमिसन आउने भएकाले बिरामीको शरीरमा भएको पत्थरी छाडिदिने र एकैपटकमा हुने शल्यक्रिया दुईपटक गराउनुपर्ने अवस्था हुने गरेको सेवाग्राही सुष्मा तिवारीको गुनासो छ ।
यसबाट अस्पताललाई आम्दानी भए पनि सेवाग्राही आर्थिक र शारीरिक रुपमा मर्कामा पर्ने गरेको गुनासो तिवारीले गरिन् ।
मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनालले पत्थरी शल्यक्रियाको खर्च बढीमा ५० हजार लाग्ने बताए । तर बिरामीले त्योभन्दा बढी रकम तिर्दै आएका छन् ।
दोस्रोपटक पत्थरीको शल्यक्रिया गर्न आएका कपिलवस्तुका धनीराम थारुले ५० हजारभन्दा बढी खर्च भइसकेको र अझै पैसा नपुग भएर डिपोजिट गर्न अस्पतालले भनेको बताए ।
कलेजका सञ्चालक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका कम्पनी सचिव खनालले दुईपटक शल्यक्रिया गर्नु स्वाभाविक भएको बताउछन् ।
उनले पत्थरीको केशमा मात्र नभएर अरु केशमा पनि दुई÷तीनपटक शल्यक्रिया हुनसक्ने बताउँदै कलेजमा कसैले पनि गलत नियत राखेर दुईपटक शल्यक्रिया नगराएको दाबी गरे । खनालले चिकित्सकलाई कमिसन दिएको भन्ने सत्य नभएको र शल्यक्रिया गर्ने मूख्य चिकित्सक कलेजको सेयर सदस्य हुँदैमा जानीबुझी दुईपटक शल्यक्रिया गरेको भन्न नमिल्ने बताए । रासस