काठमाण्डु, ८ पुस– नेपाली काँग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको ८९ औं जन्मजयन्ती आज उनका अनुयायीले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।
भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीको कान्छा छोराका रुपमा विक्रम सम्वत १९८१ पुस ८ गते आजैका दिन भारतको बनारसमा भएको थियो ।
आफ्ना संस्थापकको जन्म दिनमा काँग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन । जन्मजयन्तीको अवसर पारेर भट्टराईका लागि सरकारले बनाइदिएको ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा अपराह्न प्रवचन हुने भएको छ ।
यस्तै नक्सालस्थित बालमन्दिरमा भट्टराईको बाल्यकालदेखि निधनसम्मका तस्वीर प्रदर्शनीमा राखिएको छ । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा करिब २ सय तस्वीर संलग्न छन् । काँग्रेसले भट्टराईलाई बिर्सेकामा पार्टीभित्र असन्तुष्टि देखिएको छ ।
सभासद् एवम् युवा नेता रामहरि खतिवडाले सन्त नेता भट्टराईले मुलुकको प्रजातान्त्रिक आन्दोनलमा पुर्याएको योगदानलाई वर्तमान पार्टी नेतृत्वले बिर्सेको आरोप लगाए ।
‘किसुनजी पार्टीको संस्थापक नेता मात्र होइन, दुईपटकसम्म देशको प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्थ्यो’, खतिवडाले भने, ‘मुलुकमा लोकतन्त्र स्थापनाका लागि जीवनभर संघर्ष गर्ने व्यक्तिलाई पार्टीले बिर्संदा दु:ख लागेको छ ।’
०३३ सालमा बीपीबाट कार्यबाहक सभापति पाएका उनले ०५३ सालसम्म अनरवत रुपमा पार्टी सभापति सम्हालेका थिए ।
तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीसँगै काँग्रेसले संवैधानिक राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रलाई पार्टीको लक्ष्य बनाएपछि भट्टराईले जीवनको उत्तराद्धमा आफू काँग्रेस नभएको घोषणा गरेका थिए ।
तर आफ्नै प्रधानमन्त्रीत्वकालमा भएको २०४८ सालको आमनिर्वाचनमा उनी काठमाण्डु–१ बाट पराजित भएका थिए । २०५६ को आम निर्वाचनमा विजयी भएपछि भने उनी दोश्रोपटक प्रधानमन्त्री बनेका थिए ।
०१५ सालमा प्रतिनिधिसभाको सभामुख र २०४६ सालको आन्दोलनपछि गठित अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराई निस्कलंक राजनेता मानिन्थे । भट्टराईंको २०६७ साल फागुन २० गते वर्षको उमेरमा निधन भएको थियो ।