जहाँ आगो तापेर रात काटिन्छ…

काठमाण्डु टुडे २०७१ पुष ७ गते १०:३५ मा प्रकाशित

म्याग्दी, ७ पुस–पुस महिनाको सुरुवातसँगै भएको हिमपात र बढेको चिसोका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात कटाउन विवश बनेका छन् ।

index
भकिम्ली गाविस ९ लहरेनी र बेनी नगरपालिका ४ बगरफाँटका दलित र विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात काट्न बाध्य बनेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण सिरकको उचित व्यवस्थापन गर्न नसक्दा अहिले चिसो बढेसँगै राति आगो बालेर आगोको छेउमा रात काट्न बाध्य हुनुपरेको लहरेनीका ७६ वर्षीय दलवीर किसानले बताए ।

‘जाडोको कहर कहिनसक्नु भयो हजूर ! न्यानो कपडा छैन, रातभरि आगो तापेर जिउ सेक्छाँै’ किसानले भने ।

बगरफाँट सामुदायिक वन र भकिम्ली वन क्षेत्रका बीचमा पर्ने घना जङ्गलको मध्य भागमा अवस्थित लहरेनीमा बसोवास गर्ने १३ घर परिवारमध्ये अहिले नौँ घरका विपन्न दलित जातिले गतिलो ओढ्नेको अभावमा राति आगो बालेर आगोको छेउमा बस्ने र सुतेर रात काट्न बाध्य भएको अर्का स्थानीय भवबहादुर विकले बताए ।

वर्षांैदेखि दाउरा बेचेर गुजारा चलाउँदै आउनुभएकी ५३ वर्षीया सेती विक भन्छिन् ‘श्रीमान् र मैले दाउरा काटेर बिक्री गरी घरपरिवार चलाउँछौँ, तर आवश्यक कमाइ गर्न नसक्दा छोराछोरीलाई राम्रो लुगाफाटा लगाइदिन र ओढ्ने ओछ्याउने बन्दोबस्त गर्न सकिएन’ उनका तीन छोरी र दुई छोरा छन् ।

केही दिनयता चिसो बढेसँगै नगरको अन्य क्षेत्रका स्थानीय बासिन्दासमेत आगोको सहारा लिन बाध्य हुन थालेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us