समाजशास्त्रको एमफिल पठनपाठन बन्द

काठमाण्डु टुडे २०७१ पुष ६ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, ६ पुस–त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित समाजशास्त्र विषयको एमफिल तहको पठनपाठन ठप्प भएको छ ।

त्रिविवि, मानविकी तथा सामाजिक सङ्काय डिनको कार्यालयले चार महिनादेखि एमफिल कार्यक्रमअन्तर्गत बिहानी र सन्ध्याकालीन दुई समूहमा कक्षा सञ्चालनको स्वीकृति, कार्यक्रमको छुट्टै खाता सञ्चालन र संयोजकको नियुक्तिसम्बन्धी निर्णय नगरिदिँदा सो तहका दुवै समूहका कक्षा सञ्चालन मङ्सिर २३ देखि बन्द हुन पुगेका हुन् ।

त्रिविको एमफिल कार्यक्रममध्ये समाजशास्त्र विषयको एमफिल कार्यक्रम सबैभन्दा बढी विद्यार्थीको चाप र आकर्षक विषयका रुपमा मानिएको छ ।

विसं २०६९ देखि समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत सो तहको अध्ययन अध्यापन हँुदै आएको छ । दुई वर्षको अवधिमा ४३ जनाले सो तह अध्ययन पूरा गरिसकेका छन् ।

शैक्षिकसत्र २०७१ को कक्षा सञ्चालन भएको चार महिना बितिसक्दा पनि दुई समूहमा सञ्चालनको स्वीकृति अहिलेसम्म आएको छैन । यसले विद्यार्थीको वैधानिकतामाथि प्रश्न चिह्न उठेको छ ।
एमफिल कार्यक्रमका प्राध्यापकले सामूहिक रुपमा भने, ‘कार्यक्रमको संयोजक तोकिएको छैन, खाता सञ्चालनको अनुमति छैन, पहिलो सेमेस्टरको परीक्षा नजिकिसक्यो, प्राध्यापक कर्मचारीको पाँच महिनादेखिको पारिश्रमिक रोकिएको छ, विद्यार्थीलाई दिने शैक्षिक सामग्रीलगायतका सुविधा प्रभावित भएका छन्, यस्तो अवस्थामा पठनपाठन गरिरहँदा कसले जिम्मेवारी लिने ? यसैले हामीले हाम्रो नैतिक धरातल गुमेको अनुभव ग¥यौँ र कक्षा लिन गएनौँ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us