एमाले नेता गोकर्ण विष्ट सहमतिकै पक्षमा

काठमाण्डु टुडे २०७१ पुष ६ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, ६ पुस– एमाले सचिव गोकर्ण विष्टले लचकता अपनाएर सबै दल सहमतिमै जानुपर्ने बताएका छन् । संविधानसभाको आजको बैठकमा बोल्दै नेता विष्टले संवादहीनताले समस्याको समाधान नहुने भन्दै जिम्मेवारपूर्ण भएर संवाद अघि बढाउन सबै दललाई आग्रह गरेका छन् ।

Gokarna-Bista
उनले भने, ‘संविधान निर्माणमा हाम्रो दल लचकता अपनाउन तयार छ । यस्तै लचकता अन्य दलले पनि अपनाउने हो भने सहमतिमा पुग्न कठिन छैन । जनताको इच्छा बमोजिम समयमै संविधान ल्याउनुपर्छ ।’
उनले अन्तिममा आवश्यक पर्यो भने मात्रै प्रक्रियामा जानुपर्ने समेत बताए ।
समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गरेको समितिको चौथो प्रतिवेदनमा २९ गतेदेखि लगातार छलफल भइरहेको छ ।
छलफलमा कांग्रेस र एमालेलगायतका दलले प्रक्रियामा गएर पनि संविधान बनाउन जोड दिँदै आएका छन् भने प्रतिपक्षका रुपमा रहेका एनेकपा (माओवादी) लगायतका दलले सहमति नगरी प्रक्रियामा गएर संविधान जारी गर्न नहुनेमा जोड दिँदै प्रक्रियामा गए आफूहरूले स्वीकार नगर्ने बताइआएका छन् ।
आजको बैठकमा कांग्रेसका रमेश लेखकले एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता बमोजिम माघ ८ गते संविधान जारी गर्न ३२ दिन बाँकी हुँदा पनि टुङ्गोमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय समुदाय यहाँको गतिविधिप्रति आश्वस्त हुन छाडेका बताए ।
उनले भने, ‘विभिन्न सङ्घसंस्थाले पनि हाम्रा कामकारबाहीप्रति आलोचना गर्न थालेका छन् भन्दै दुईजनालाई आरोप लगाएर अन्य दल संविधान निर्माण प्रक्रियाबाट भाग्न पाउँदैनन् ।’
एमाओवादीका शक्तिबहादुर बस्नेतले संंविधानसभामा दुई शक्ति मोर्चाका रूपमा प्रस्तुत हुनुभन्दा सहमतिको संविधान जारी गर्न ध्यान जानुपर्ने बताए । उनले भने, ‘समस्याको चुरो ‘सहमति र प्रक्रिया’भन्दा पनि यथास्थितिवादीको हो ।’
आफ्नो दलले संविधान निर्माणमा निर्वाह गरेको भूमिकाको समीक्षा हुनुपर्ने, सहमतिको निम्ति को कति इमान्दार छ हेर्नुपर्ने, सङ्ख्याको हिसाबले मात्र संविधान जारी नहुने भएकाले बिरासतमा पाएको सङ्ख्यालाई अघि सार्न नहुने उनले बताए ।
राप्रपा नेपालका रेशमकुमार लामाले सहमतिको बाटो सकिएकाले विधि र प्रक्रियामा जानुपर्ने र विवादित विषयलाई पुनः समितिमा पठाउनुभन्दा जनमतसङ्ग्रह गराउनुपर्ने विचार प्रकट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us