काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीले काठमाण्डुमा प्रत्यक्षतर्फका उम्मेदवार पुन: परिवर्तन गरेको छ ।
माअोवादीले काठमाण्डु–६ मा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, ७ मा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र ९ मा नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । यसअघि हिजो प्रधानलाई ८ बाट ६ मा लगेर उनको ठाउँमा रुपा महर्जनलाई उठाउने निर्णय गरेको थियो । त्यसमा प्रधानले असहमति जनाएका थिए । प्रधानलाई ६ नम्बर निर्वाचन क्षेत्रबाट उठाउने तयारीसँगै शर्मालाई समानुपातिकमा राख्ने निर्णय भएको थियो । तर विद्यार्थीहरुको एक समूहले बुधबार साँझ लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास घेराउ गरेका थिए । विद्यार्थीको दबाबपछि शर्मालाई काठमाण्डु–९ बाट उठाएर पौडेललाई समानुपातिकमा सारिएको थियो । तर त्यसप्रति पौडेलले गम्भीर असहमति जनाए । स्रोतका अुनसार उनलाई क्षेत्र नम्बर ९ बाटै उम्मेदवार बनाउन नेता बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डमाथि दबाब दिएका छन् ।
पार्टीमा भट्टराईनिकट मानिने पौडेल उनी प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । बागलुङ स्थायी घर भएका शर्मा र पौडेल भने नातेदार हुन् । स्रोतका अनुसार पौडेल बिहीबार बिहानै क्षेत्र नम्बर–९ का कार्यकर्ताहरुको एक समूहसहित आफूलाई उम्मेदवार बनाउन माग गर्दै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । उनलाई प्रचण्डले ९ नम्बरबाटै उम्मेदवार बनाउने आश्वासन दिएर फर्काइदिएका छन् ।
महर्जनले भने पद र प्रतिष्ठाका झगडा नगर्ने भन्दै आफू चुनावी रेसबाट पछि हटेको बताएकी छन् ।