हिमपातले मुक्तिनाथ सुनसान

काठमाण्डु टुडे २०७१ पुष ५ गते ४:३२ मा प्रकाशित

मुस्ताङ, ५ पुस – भारी हिमपातका कारण मुक्तिनाथ सुनसान बनेको छ । जोमसोमदेखि मुक्तिनाथसम्म जाने सडक र पैदल मार्गमा हिउँ जमेकाले भक्तजन जान–आउन सकेका छैनन् ।

मंगलबारदेखि छेउछाउका सर्वसाधारणबाहेक कोही पनि आउन नसकेको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

जोखिम मोलेर हिँड्न सक्ने मात्र मुक्तिनाथमा पुग्ने गरेका छन् । हिउँ परेदेखि मन्दिरमा दैनिक दुई जनाभन्दा बढी भक्तजन नआएको पुजारी सुवेदीको भनाइ छ । जाडो मौसम सुरु भए पनि मुक्तिनाथमा जिल्ला र बाहिर जिल्लाबाट समेत भक्तजन जाने गर्छन् ।

सडकको मुख्य भाग र आसपासका क्षेत्रमा हिउँ रहेकाले जोमसोमदेखि माथि कागबेनी र मुक्तिनाथसम्म सवारीसाधन ठप्प बनेको मुस्ताङ जिप तथा बस सञ्चालक समितिका सदस्य दीपक लालचनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us