यस्तो छ नयाँ नगरपालिकाको हालत !

काठमाण्डु टुडे २०७१ पुष ३ गते ६:१५ मा प्रकाशित

काठमाण्डु, ३ पुस– सरकारले हतारहतार दोस्रो किस्तामा मंसिर १६ गते केही नगरपालिका घोषणा गर्यो । तर प्रशासनिक दृष्टिले न साधन स्रोत पूरा भएको थियो, न जनशक्तिकै व्यवस्था । अहिले नवघोषित नगरपालिकाहरुको प्रशासनिक हालत निकै खराब देखिएको छ ।

2

बुधबार बिहान ललितपुरको नवघोषित महालक्ष्मी नगरपालिकामा पुग्दा सेवाग्राही अलमल्ल जस्ता देखिन्थे । निमित्त कार्यकारी अधिकृत र इन्जीनियर गरी दुई कर्मचारी मात्रै रहेको उक्त कार्यालयमा हुनुपर्ने आधारभूत सुविधा पनि थिएन ।

कार्यालयमा आएका सेवाग्राहीले विभिन्न विषयमा सोध्दा निमित्त कार्यालय अधिकृत प्रदिपमणि शर्मा चौलागाई र इन्जीनियर प्रशान्तसिंह थापा ललितपुर उप–महानगरपालिकाका अधिकृतहरुसँग सोधेर लेखी ल्याएको कार्यसञ्चालनको चिर्कटो हेर्दै सेवाग्राहीलाई सेवा प्रदान गरी रहेका थिए ।

‘मैले अधिकृतदेखि पिएनसम्मको काम आफैले गर्नुपरेको छ, यहाँ अहिले हामी दुई जनामात्र छौ’, चौलागाईले काठमाण्डु टुडेसँग भने, ‘त्यसो त एकजना आमा उमेरको कार्यालय सहायोगी पनि हुनुहुन्छ तर उहाँलाई चिया पकाउन भन्न पनि मन लाग्दैन, आमाको उमेरकी हुनुहुन्छ, के भन्ने ?

3

नगरपालिका घोषणा गर्दा कम्तीमा एक कार्यकारी अधिकृत, दुई इन्जीनियर जसमा आर्किटेक्ट र सिभिल, एक वातावरण इन्जीनियर, एक राजश्व अधिकृत, एक लेखा अधिकृत, एक कार्यालय साहायक, एक कार्यालय सहयोगी, एक कम्प्युटर अपरेटर र एक सवारी चालक रहने व्यवस्था हुनुपर्ने स्थानीय विकास मन्त्रालयका सहायक प्रवक्ता प्रेमराज जोशी बताउँछन् । तर अहिले कुनै पनि नयाँ नगरपालिकामा यस्तो व्यवस्था भएको देखिन्न ।

संविधान सभामा संघीयताको विषय टुङ्गो नलाग्दै हतारिएर ल्याइएको नगरपालिका घोषणाको एउटा उदाहरण त महालक्ष्मी नगरपालिका नै हो ।

कार्यालय कहाँ राख्ने समेत टुङ्गो भइनसकेको र तत्कालका लागि महालक्ष्मी नगरपालिकाको वोर्ड इमाडोल गाविसको पुरानो भवनमा राखिएको छ । नगरपालिकामा लेखा अधिकृतको दरबन्दी भइसकेको भए पनि नगरपालिकाको कार्यसञ्चालन भएको १५ दिन बितिसक्दा समेत उनी कार्यालयमा आइपुगेका छैनन् ।

मंसिर १६ मा घोषणा गरिएको महालक्ष्मी नगरपालिका लामाटार, टिकाथली, सिद्धीपुर, लुभू र इमाडोल गाविसलाई गाभेर बनाएको छ । यीमध्ये सबैभन्दा दुर्गम गाविसका रुपमा लामाटार गाविस रहेको छ । ‘नगरपालिकाबाट के–के हुने हो र वडा कार्यालयबाट के–के हुने हो भन्ने नै बुझन सकिएन’, लामाटार घर भएका अर्जुन महर्जनले भने ।

4

सडकको अवस्था जीर्ण छ । खानेपानी आपुर्तिको योजना कागजमा बन्दाबन्दै नगरपालिका घोषणासँगै कागजमै रोकिएको छ । शिक्षा, स्वास्थ्यका लागि काठमाण्डु जिल्लामा भर पर्नु परेको छ । सार्वजनिक यातायातको व्यवस्था अत्यन्त नाजुक अवस्थामा रहेको छ । यस्तोमा प्रश्न उठ्नु स्वभाविक छ, नगरपालिका घोषणा केही टाँठाबाठाका लागि कि आम नागरिकका लागि ?

नगरपालिकाले लेटरप्याड समेत छापेका छैनन् । महालक्ष्मी नगरपालिकामा पनि लेटरप्याड आइपुगेको छैन । ‘हामीले छपाई गर्न दिइसकेका छौ, त्यो आएपछी काम हुन्छ’, इन्जीनियर थापाले भने ।

अहिले माहालक्ष्मी नगरपालिकाले सेवाग्राहीको थोरै काममात्र गरी रहेको छ, कर्मचारीहरु भन्छन्– प्राविधिक कारणबस यस्तो भएको हो । ‘हामीले आइतबारदेखि पुर्णरुपमा काम गर्न सक्ने छौ’, निमित्त कार्यालय अधिकृत चौलागाईले भने ।

नगरपालिकामा पुस मसान्तसम्म राजनीतिक दलहरु सम्मिलित नगरपरिषद नगरीकन कुनै काम अगाडी बढाउन सक्ने अवस्था छैन । किनकी स्थानिय निकाय अहिले प्रतिनिधिविहीन भएको दशकभन्दा बढी भयो । स्थानिय निकायको चुनाव नभएका कारण अहिले स्थानिय निकायहरु राजनीतिक दलहरुको सरसल्लाहामा र कर्मचारीको मिलेमतोमा चली रहेको छ ।

1

योजना आयोगका पूर्वउपाध्यक्ष तथा भुगोलविद् पिताम्बर शर्माले अहिलेका नगरपालिका बिभाजनको कुनै सैद्धान्तिक र व्यवहारिक आधार नभएको बताउँछन् । उनी भन्छन, ‘प्रदेश निर्माण गर्नुअघि नयाँ नगरपालिका तोकेर प्रादेशिक विकासको एउटा महत्वपूर्ण पक्षलाई ओझेलमा पार्ने काम भएको छ ।’

महालक्ष्मी नगरपालिका एउटा उदाहरण र प्रतिनिधि नगरपालिका हो जसले राज्यको सोच र योजनाबिना गरिने घोषणाको झल्को दिन्छ ।

सरकारले २५ वैशाखमा ७१ र १६ मंसिरमा ६१ गरी दुई चरणमा देशै भरी कुल एक सय ३३ नगरपालिका घोषणा गरेको थियो ।

धर्मनिरपेक्ष राज्य : हिन्दू धार्मिक नामका नगरपालिकाहरु

राज्य धर्म निरपेक्ष भइसकेको झण्डै आठ वर्ष भइसकेको छ तर दुर्भाग्य नै भन्नुपर्छ– दुई पटक गरी घोषणा गरिएका नगरपालिकाहरुमा अधिकांश नगरपालिकाहरु हिन्दु देवीदेवताको नाममा राखिएका छन् । त्यसको जिउँदो उदाहरण महालक्ष्मी नगरपालिका नै हो ।

राज्यले कुनै पनि धर्मलाई प्रोत्साहित नगर्ने भने पनि कार्यान्वयनमा भने त्यस्तो देखिदैन । हिन्दुहरुको बाहुल्य रहेको भनिएको नेपालमा हिन्दुहरुको धार्मिक चाडमा बिदा दिनेदेखि लिएर नगरपालिकाको नाम घोषणा गर्नेसम्ममा यसलाई प्रमुखताका साथ अगाडि बढाइएको देखिन्छ ।

5

चांगुनारायण, देउमाई, बुढानिलकण्ठ, गोकर्णेश्वर जस्ता कयौं नाम हिन्दु देवीदेवताहरुको नामबाट नगरपालिका घोषणा गरिएको छ ।

—————–

तस्विरहरु : राज श्रेष्ठ/काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us