
काठमाण्डु, १ पुस–कृषि विकास मन्त्री हरि पराजुलीले सरकारले प्रविधिको उच्चतम प्रयोग गरी उत्पादन लागत घटाउन मेसिन उपकरणमा एक प्रतिशतमात्रै भन्सार कर लाग्ने व्यवस्था गरेको बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ३ का नेकपा एमालेका सभासद् रामेश्वर फुयाँल र अखिल नेपाल किसान महासङ्घ काठमाडौँ जिल्ला समितिद्वारा आयोजित उद्यमशीलता विकासका लागि छलफल कार्यक्रममा मन्त्री पराजुलीले सो बताएका हुन् ।
उनले केही अत्यावश्यक मेसिन औजारमा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको पनि बताए ।
सरकारले भूमिहीन किसान, मुक्त कमैया, स्थानीयस्तरमा कृषि क्षेत्रमा आबद्ध कृषक र कृषि क्षेत्रमा आकर्षित युवालाई लक्ष्य गरी अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका, व्यावसायिक कृषि तथा व्यापार आयोजना, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले आ–आफ्ना संस्थाले सञ्चालन गरेका कार्यक्रमबारे जानकारी गराएका थिए । रासस