
काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीले आगामी वर्षको माग महिनाभित्र विषेश महाधिवेशन गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २०७२ साल माघ तेश्रो साताभित्र महाधिवेशन गर्न राखेको प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले अनुमोदन गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
प्रचण्डको प्रस्तावमा विशेष महाधिवेशनबाट बहुचर्चित चुनवाङ बैठकद्वारा पारित ‘२१ औं शताब्दीको जनवाद’ सम्बन्धी अवधारणाअनुसार नेतृत्व हस्तान्तरणको प्रक्रिया आरम्भ गर्ने उल्लेख छ ।
प्रचण्ड र नेता बाबुराम भट्टराईबीच वैचारिक र संगठनात्मक नेतृत्व अलग अलग व्यक्तिले गर्ने भद्र सहमति भएपछि ६ महिनायता बस्न नसकेको केन्द्रीय समिति बैठक आइतबार बसेको हो ।
भट्टराईसँगको सहमतिअनुसार प्रचण्डले आफूले प्राधिकारयुक्त वैचारिक नेतृत्व लिने र भट्टराईले सांगठनिक नेतृत्व लिने आशयको प्रस्ताव बैठकमा पेश गरेको नेताहरुले बताएका छन् ।
आफूलाई नेतृत्व दिने सर्तमा भट्टराई पनि प्रचण्डलाई प्रचण्डपथ वा सोही तहको वैचारिक संश्लेषण गरी प्रचण्डलाई वैचारिक प्राधिकारसहितको सम्मानित पदमा राख्न सहमत भएका छन् ।
प्रचण्डको प्रस्तावमा अहिलेको केन्द्रीय समिति स्वत: महाधिवेशन आयोजक समितिमा रुपान्तरित हुने उल्लेख छ । प्रवक्ता शर्माले अध्यक्षबाहेक सबै आयोजक समिति सदस्य हुने र पदाधिकारीसहति स्थायी र पोलिट्ब्युरो जस्ता संरचना नरहने बताए ।
यसैबीच उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित संस्थापन पक्षकै केही प्रभावशाली नेताले अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीचको पदबाँडफाँड सम्बन्धी सहमतिको विरोध गरेका छन् ।
पोलट्ब्यिुरो सदस्य हेमन्तप्रकाश ओलीले दुई नेता बसेर गरेको स्वेच्छाचारी निर्णय केन्द्रीय समितिको बहुमतले अस्वीकार गर्ने चेतावनी दिए । ‘यो स्वेच्छाचारी निर्णय हो’, ओलीले भने, ‘केन्द्रीय समितिको बहुमत यस्तो विपक्षमा छ ।’