
काठमाण्डु, २२ मंसिर– दुवै फोक्सो काम नलाग्ने बनाउने पानीबाट सर्ने लिगिनायर्स नामक नयाँ रोग देखा परेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार रोगको संक्रमण फैलिन नदिन किटाणुमुक्त पानीको व्यवस्था नभएसम्म पानीका फोहोरा बन्द गर्न सर्वसाधारण र संघसंस्थालाई आग्रह गरेको छ ।
उक्त रोग काठमाण्डु कालीमाटीका दुई जना पुरुषमा देखिएको महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए । बल्खुस्थित वयोधा अस्पतालमा केही साताअघि उपचारका लागि भर्ना भएका ती बिरामीमा रोग देखा परेको हो ।
लक्षण शंकास्पद भएपछि अस्पतालका चिकित्सकले बिरामीको पिसाब पटकपटक जाँच गरेका थिए । रोग पुष्टि हुन नसकेपछि ललितपुरस्थित संयक डाइग्नोसिस सेन्टरमा जाँच गर्दा उनीहरुलाई लिगिनायर्स रोग लागेको प्रमाणित भएको थियो ।
केही महिनायता पोर्चुगलमा लिगिनायर्सको प्रकोप फैलिँदा ११ जनाको ज्यान गइसकेको छ । त्यहाँ यसबाट पीडित करिब चार सय जना अस्पताल भर्ना भएका छन् । यो दुवै फोक्सो काम नलाग्ने अवस्था उत्पन्न हुने रोग हो ।
रोगको रोकथाममा विशेष ध्यान दिन सबै अस्पताल र होटेललाई आग्रह गर्दै महाशाखाले विज्ञप्तिमार्फत यस्ता बिरामीलाई छुट्टै आइसियु र वार्डमा भर्ना गर्न पनि अस्पतालहरुलाई अनुरोध गरेको छ ।
मरासिनीका अनुसार पानीबाट मानिसमा सर्ने गरेको यो रोग धूमपान गर्ने र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा देखापर्ने गरेको छ ।
यो रोग लागेपछि सुरुमा रुघा लाग्ने र बिस्तारै ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, अचेत हुनेजस्ता लक्षण देखिन्छन् । उनले यो रोग नेपालमा पनि देखिनुको कारण पत्ता लगाउन बिरामीलाई निगरानीमा राखेर थप अनुसन्धान भइरहेको बताए ।
अन्नपूर्णपोस्ट दैनिकबाट