
काठमाण्डु, १९ मंसिर– लामो समयदेखि वैचारिक र सांगठनिक विषयमा मतभेद भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईबीच भागबन्डा मिलेको छ । दुवै नेताबीच एक वर्षभित्र विशेष महाधिवेशन गरी दुवै नेतामा ‘जिम्मेवारी बाँडफाँड’ गर्ने विषयमा सहमति भएको हो ।
पार्टीको सबै शक्ति अध्यक्ष दाहालमाथि केन्द्रित भएको भन्दै भट्टराईले असन्तुष्टि जनाउँदै आएका छन् ।
विशेष महाधिवेशनबाट दाहालले पार्टीको वैचारिक नेतृत्व र भट्टराईले सांगठनिक नेतृत्व लिने दुवै नेताबीच अनौपचारिक समझदारी भएको एक नेताले बताए । ‘विशेष महाधिवेशन गरेपछि दुवै नेताले दुई वटा फाँटको नेतृत्व लिनुहुनेछ’, ती नेताले भने, ‘त्यसका लागि आगामी केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गर्नेछ ।’
मंसिर २८ गते केन्द्रीय समितिको बैठक बस्ने तय भएको छ । दुई नेताको उचित जिम्मेवारी बाँडफाँडपछि ओरालो लागेको एमाओवादी अगाडि बढाउन सक्ने निष्कर्ष उनीहरुले निकालेका छन् ।
त्यसैले पार्टीभित्र शक्तिसन्तुलन ल्याउन र विभाजित मनस्थिति भएका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उनीहरुको दाबी छ ।
कान्तिपुर दैनिकबाट