यातना पीडित छात्रालाई निःशुल्क शिक्षा

काठमाण्डु टुडे २०७० असोज १५ गते ३:५१ मा प्रकाशित

दमौली, १५ असोज –तनहुँको क्यामिन–१ कलेस्तीस्थित दोभान इङ्लिस बोर्डिङ स्कुलले शिक्षिकाबाट यातना दिइएकी सोही विद्यालयकी कक्षा ४ की १० वर्षीया छात्रा अस्मिता थापा मगरलाई निःशुल्क पढाइदिने भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश अधिकारीको अध्यक्षतामा विद्यालयमा बसेको बैठकले पीडितको मागलाई सम्बोधन गर्दै त्यस्तो निर्णय गरेको हो । विद्यालय प्रशासन र पीडित पक्षबीच तीन बुँदे सहमति गरिएको छ ।

अस्मितालाई आगामी कात्तिक महिनादेखि लागू हुने गरी विद्यालयमा अध्ययन गरुन्जेल निःशुल्क पढाइदिने, यातना दिने शिक्षिका सरिता गुरुङलाई एकपटकलाई चेतनापत्र दिई आइन्दा घटना दोहो¥याए निष्कासित गर्ने र अस्मितालाई विद्यालयमा रहँदासम्म घाउ पुनः बल्झेमा उपचार गरिदिने सहमति भएको विद्यालयका संस्थापक प्रिन्सिपल सिकन्दर गुरुङले जानकारी दिए ।

शिक्षिका गुरुङले गत मङ्गलबार पाठ सोध्दा नजानेको भन्दै ती बालिकालाई टाई फुकालेर हात पछाडि लगेर बाँध्दा उनको देब्रे हातको औँलामा रक्तसञ्चार हुन नसकी चल्न छोडेपछि पीडित पक्षले ती शिक्षिकालाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए । बालिकाकी आमाले अब आउने दिनमा विद्यालयले यस्ता घटना नदोहो¥याउने बताएपछि एकपटकलाई माफी दिँदै सहमति गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us