दसैँमा पिङ हाल्न वन समूहको अनुदान

काठमाण्डु टुडे २०७० असोज १५ गते २:४४ मा प्रकाशित

Ping-Finalपरासी, १५ असोज–नवलपरासी दुम्किवासको राष्ट्रिय वन संरक्षण समितिले आफ्ना उपभोक्तालाई १५ वटा लिङ्गेपिङका लागि काठ अनुदान दिने भएको छ । दसैँमा चोक चौराहामा लिङ्गे पिङ बनाउने चलनले बनबाट ७० भन्दा बढी सालका लाथ्रा काटिने भएकाले त्यसलाई रोक्न अनुदानको व्यवस्था गरिएको वन संरक्षण समितिका अध्यक्ष पवित्रबहादुर जिसीले बताए ।

प्रत्येक पिङ निर्माणका लागि समितिले एक हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो ।  साना बालबालिका पिङमा रमाउने भएकाले दसैँमा यसको प्रयोग बढी हुने गर्दछ ।

सालका लाथ्रा प्रयोग हुने ठाउँमा बाँस प्रयोग गर्न राष्ट्रिय वन संरक्षण समितिले अनुदानको व्यवस्था गरेको हो । एउटा बाँसलाई २०० रुपैयाँ पर्छ । चार घना बाँस, माथि राख्ने बलो र डोरी किन्न पुग्नेगरी वन समितिले अनुदान उपलब्ध गराएको हो ।

सालका लाथ्रा काट्न जाँदा जथाभावी साना बिरुवा काटिने र नयाँ बिरुवाको विकासमा अवरोध आउने भएकाले उपभोक्ताको भेलाले पिङमा प्रयोग हुने लिङ्गोलाई अनुदान दिने निर्णय गरेको हो । सालको रुख हुर्काउन लामो समय लाग्ने भएकाले त्यसलाई जोगाउन गाउँले लागेका हुन् । झन्डै साना ठूला एक सय रुखको नोक्सानी हुने देखिएकाले निवेदनका आधारमा पिङलाई अनुदान दिने अभियान थालेको अध्यक्ष जिसीले बताउनुभयो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us