अफगानिस्तानमा दुई नेटो सैनिकको मृत्यू

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १०:४९ मा प्रकाशित

 काबुल, ९ मंसिर– अफगानिस्तानमा सोमबार नेटोसँग आवद्ध दुई सैनिकको मृत्यु भएको छ । नेटोसँग आवद्ध दुई अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आइएसएफ) का दुई सदस्य मारिएको आइएसएएफद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

साेमबार पूर्वी अफगानिस्तानमा भएको आतंककारी आक्रमणमा आएसएएफका दुई सदस्य मारिएको सो विज्ञप्तिमा जनाइएको छ । यद्यपि आएसएएफको नीतिअनुसार मारिएका ती सैनिकको राष्ट्रियता र परिचयसहितको विस्तृत विवरण भने दिइएको छैन ।

स्थानीय सञ्चारमाध्यमले भने सोमबार विदेशी सैनिकलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा एक सैनिकको मृत्यु हुनुको साथै अन्य दुई अफगान नागरिक घाइते भएका जनाइएको छ । अफगानिस्तानमा तालिवान आतंककारी समूहले अफगान र नेटोसँग आवद्ध सुरक्षाकर्मीलाई लक्ष्यगरी बारम्बार आक्रमण गर्ने गरेका छन् ।

यद्यपि अफगानिस्तानमा सन् २००१ देखि तालिवान आतंककारी समूहसँग युद्धरत नेटोसँग आवद्ध सैनिक यसै वर्षको अन्त्यबाट फर्किने निर्णय नेटो आवद्ध देशहरुले गरिसकेका थिए ।    अफगानिस्तानमा बाँकी रहेका करिब ५० हजार सैनिकलाई फर्काउने कार्य ती देशले सुरु गरिसकेका छन् ।

तर ती मध्ये करिब १२ हजार सैनिक भने सन् २०१५ सम्म पनि अफगानिस्तानमै रहने द्वीपक्षीय सुरक्षा सम्झौतामा अमेरिका र अफगानिस्तानबीच हस्ताक्षर भएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us