निर्वाचन प्रमुखलाई मार्ने धम्की

काठमाण्डु टुडे २०७० असोज १४ गते १७:४७ मा प्रकाशित

कोलम्बो–मालद्वीपका निर्वाचन आयुक्त फुवाद थोवफिकले सर्वोच्च अदालतले यस साताको अन्त्यमा हुने भनिएको राष्ट्रपति पदको निर्वाचन स्थगन गरेपछि मुलुकमा देखिएको राजनीतिक समस्याबीच आफूले ज्यानमार्ने धम्की पाउन थालेको सोमबार बताएका छन् ।
सर्वोच्च अदालतले निर्वाचन स्थगन गर्न दिएको आदेश नमान्दै आयुक्त थोवफिकले शनिबार निर्वाचन कार्यक्रम अगाडि बढाउने तयारी गरेका थिए र यसपछि निर्वाचन रोक्न सेनालाई आदेश दिइएकाले उनी पछि हट्न बाध्य भए । थोवफिकले आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी प्रहरीलाई दिएको बताए । उनले स्थानीय नम्बरबाट उक्त धम्की आएको र धम्की आफू, आफ्ना परिवार तथा आफ्ना कर्मचारीविरुद्ध आएको बताए । शनिबारको निर्वाचन पूर्व राष्ट्रपति मोहमद नसीद तथा पूर्व निरङ्कुश राष्ट्रपति मौमुन अब्दुल गयुमका भाइ अब्दुल्लाह यामिनबीच हुने तय भएको थियो । पूर्व राष्ट्रपति गयुमले सन् २००८ सम्म तीन दशक यस मुलुकमा शासन चलाएका थिए ।
सेप्टेम्बर ७ मा भएको पहिलो चरणको निर्वाचनमा नसीदले ४५.४५ प्रतिशत मत प्राप्त गरेका थिए । उनले अदालतको आदेश आफूलाई शासनमा फर्कन नदिन एक षडयन्त्र भएको दाबी गरेका छन् । उनी डेढ वर्ष शासन गरेपछि प्रहरीको विद्रोहमा पदच्युत भएका थिए । निर्वाचनमा धाँधली भएको भन्ने गुनासोमा सुनुवाई नभएसम्म सर्वोच्च अदालतले दोस्रो चरणको निर्वाचन स्थगन गरेको छ । यसका लागि तेस्रो थान प्राप्त गरेका उम्मेदवार गासिम इब्राहिमले मुद्दा दायर गरेका थिए । इब्राहिम तीन लाख ५० हजार सुन्नी मुसलमान बसोबास गर्ने मुलुकको सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन् । पहिलो चरणको निर्वाचन निष्पक्ष भएको सुपरिवेक्षकहरूले बताएपछि संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायत, भारत तथा युरोपेली महासङ्घले राष्ट्रपति पदको निर्वाचनको प्रक्रिया ढिलो नगरिकनै सम्पन्न गर्न आग्रह गरेका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us