
काबुल,७ मंसिर– अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) ले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध शनिबार बिहानदेखि आइतबार बिहानसम्म गरेको कारबाहीको क्रममा ३० तालिवानको मृत्यु भएको छ ।
अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र एएनएसएफको सहभागितामा सो कारबाही भएको जनाइएको छ ।
नान्गर्हार, बाघलान, फराह र हेलमान्ड प्रान्तमा जारी रहेको कारबाहीको क्रममा ३० जना सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु भएको र तीनजना घाइते हनुको साथै एक पक्राउ परेका छन् ।
यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।
यस वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई लक्ष्य गरी आक्रमणलाई तीव्र पारेका छन् ।
उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको समाचारमा उल्लेख गरिएको छ ।
रासस