
काठमाण्डु, ७ मंसिर– भारतमा प्रधानमन्त्री पदमा आउनुअघि नै चर्चाको केन्द्रमा रहेका नरेन्द्र मोदी अहिले पनि हल्लाखल्लामा सबैभन्दा अगाडि छन् । उनी मिडियामा जति लोकप्रिय भनेर प्रचारित छन्, त्यति नै विवादास्पद व्यवहारका कारण पनि चर्चामै हुन्छन् ।
सार्कको अठारौं सम्मेलनका अवसरमा नेपाल आउँदा जनकपुर, लुम्बिनी र मुक्तिनाथको ‘दर्शन’ गर्ने वचन दिएको मोदी प्रशासनले चार दिनमा चारथरि वक्तव्य दिइसकेको छ । र, सबैभन्दा पछिल्लो वक्तव्यले उनले काठमाण्डु बाहिरका धार्मिक भ्रमणहरु रद्द गरेको जनाएको छ ।
बिहीबार यातायात मन्त्री विमलेन्द्र निधिलाई मोदी भ्रमण ‘रद्द भएको’ जानकारी दिने दुतावास स्रोत, त्यसको भोलिपल्ट ‘रद्द भएको जानकारी छैन’ भन्ने राजदूत, त्यसको दुई दिनपछि ‘जान नसक्ने’ वक्तव्य दिने दिल्लीको विदेश मन्त्रालय ।
यी तीन पटकका तीनथरि अभिव्यक्तिहरुलाई प्रशासनिक वा प्राविधिक कमजोरी त्यतिबेला मात्रै मान्न सकिन्छ, जतिबेला यो पहिलो घटना भएको होस् । तर, प्रधानमन्त्री मोदीको प्रशासनलाई भारतभित्रै विवादास्पद वक्तव्य दिने प्रशासन मानिन्छ ।
मोदीको टिमले फरक–फरक ठाउँ वा फरक–फरक समयमा फरक–फरक वक्तव्य दिने गरेका थुप्रै नजिर छन् । भारतमा यसलाई ‘मोदीका अनेक मुख’ भन्ने गरिएको छ ।
दिल्लीबाट प्रकाशित हुने एक मासिक पत्रिकाले मोदी सरकारबारे सम्पादकीय टिप्पणी गर्दै लेखेको छ– ‘भनिन्छ, रावणले आफ्ना दश मुखबाट बोल्थ्यो तर हरेक मुखबाट उसले एउटै कुरा बोल्थ्यो । मोदी सरकार र उसको पछाडि उभिएको संघ परिवारका पनि अनेक मुख छन् तर यी सबै मुखले एकैचोटि फरक–फरक कुरा गरिरहेका हुन्छन् । मान्छेको ध्यान तान्ने र उनीहरुलाई आफ्नो भित्री उद्देश्यका बारेमा भ्रमित पार्ने यो उनीहरुको पुरानै तरिका हो ।’
चुनाव अघिदेखि नै चलिरहेको मोदीको यो अनेक मुखको खेल उनी सत्तामा आएपछि झन् चलाखीसहित चलिरहेको भारतको राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ । देश विदेशमा घुम्दै मोदीले ‘विकास–विकास’ भनेर गरिरहेको विकासप्रेमी भाषणपछि कतिपयले भारतमा उनको नाम ‘विकास बाबु’ राखिदिएका छन् ।
मोदी–प्रशासनले भारतभित्र मात्रै होइन, बाहिर पनि आफ्ना अनेक मुखको प्रयोग गरेको नेपाल भ्रमणको सन्दर्भले पुष्टि गरेको छ । उनको खास भित्री उद्देश्य के थियो र उनको प्रशासनले तीन दिनमा तीनवटा मुख प्रयोग किन गर्यो ? यो भने अहिले नेपालभित्र अनुत्तरित प्रश्न भएको छ ।