
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनका अवसरमा जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम अचानक रद्द भएको समाचार आएको छ । यो भारत सरकारकै तर्फबाट जानकारी आएको भनिएको छ । तय भइसकेको छिमेकी राष्ट्रको प्रधानमन्त्रीको भ्रमण रद्द हुनुले नेपाल सरकारको कुटनीतिक र परराष्ट्र नीतिको पूर्ण असफलता देखिन्छ ।
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमले दिएको अभिव्यक्ति र नेपाल सरकारबाट हुन नसकेको कुटनीतिक तयारीका कारण यो भ्रमण रद्द भएको हो । हाम्रा गृहमन्त्री र परराष्ट्र मन्त्रीले अराजनीतिक मन्तव्य दिंदै हिंडेका थिए । प्रधानमन्त्रीले पनि राज्य व्यवस्था समितिमा ‘उहाँ (मोदीजी) आउँछु भन्नुभयो, मैले हुन्छ भनिदिएँ’ भन्ने शैलीको जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीकै तहबाट यति हलुका टिप्पणी हुनु कुटनीतिक वृत्तमा सुहाउँदो कुरा होइन ।
हामीकहाँ कुटनीति खुलामञ्चमा गरिन्छ, नेगोसिएसन चोकचोकमा गरिन्छ, अनि राजनीति कोठाभित्र गरिन्छ । कुटनीति वा नेगोसिएसन हो कोठामा गर्नुपर्ने । हाम्रो सरकारले कुटनीतिक विषयलाई खुलामञ्चमा लगेका कारण नै यो असफलता बेहोरेको हो ।
भारतीय प्रधानमन्त्रीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द हुनु नेपालको इतिहासमा ठूलो दुर्घटना हो । यसको दोष अरुलाई लगाएर हुँदैन, सरकार नै यसको मुख्य जिम्मेवार हो । यो दुर्घटनाले नेपाल–भारत सम्बन्धमा लामो समयसम्म गहिरो असर पार्ने छ । भारतीय प्रधानमन्त्री जनकपुरमा गएर बोल्दैमा नेपालको सार्वभौमिकतामा असर पर्छ भन्नु गलत कुरा हो । मोदी केही समयअघि अमेरिका र अष्ट्रेलिया गएर मन्तव्य दिएका थिए, के त्यसले अमेरिका र अष्ट्रेलियाको सार्वभौमिकतामा असर पार्यो ? हाम्रै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जवाहरलाल नेहरु विश्वविद्यालयमा गएर भाषण गरेका थिए, के त्यसले भारतको सार्वभौकिता सकियो ? हाम्रा नेताहरु पनि विदेशमा गएर बोलिरहेका छैनन् ? अहिले रामचन्द्र पौडेल अमेरिकामा गएर आफ्ना पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दैछन्, के त्यसले अमेरिकाको सार्वभौकिता सकिन्छ ? विदेशी प्रधानमन्त्री अर्को मुलुकमा जाँदा सुरुमै राजधानी सहर नै कुटनीति अहिले छैन । केही समयअघि अमेरिकी राष्ट्रपति बाराक ओबामा पहिलोपटक दिल्ली नगएर बम्बइ ओर्लेका थिए । चिनियाँ राष्ट्रपति सि जिन पिङ पनि भारतमा आउँदा दिल्ली होइन, अहमदावाद पुगेका थिए । कुटनीतिक क्षेत्रमा र परराष्ट मामिलामा आएको अहिलेको परिवर्तनलाई नेपाल सरकारले बुझ्न सकेको थिएन ।
नेपाल र भारतको सम्बन्धमा यस दुर्घटनाले नराम्रो असर पार्नेछ । खासगरी उत्तरी भारत छिमेकी रहेको मधेस क्षेत्रमा मोदी आगमनलाई एउटा ठूलो अवसर र आशाका रुपमा हेरिएको थियो । जनस्तरमा एक प्रकारको उत्साह र आशा जगाएको थियो । सरकारको नालायकीपनले त्यसमाथि तुषरापात गरेको छ । जनकपुर, लुम्बिनी र मुक्तिनाथ भनेका संसारभरिका हिन्दु र बौद्धहरुको महत्वपूर्ण तीर्थस्थल हुन् । मोदी ती ठाउँमा पुग्दा हाम्रो पर्यटकीय स्थलहरुप्रति संसारभरिका पर्यटकहरुको आकर्षण बढ्ने थियो । त्यसले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने थियो । तर सरकारको गैरजिम्मेवारपूर्ण कुटनीतिले गर्दा त्यो सबै दुर्घटित भएको छ ।
आफ्नो असफलतालाई ढाक्न सरकारले अहिले मधेसवादी दल वा विपक्षी दललाई दोष लगाइरहेको छ । मधेसवादी दलहरुले त अस्ती बाह्रविघामै मोदीलाई भाषण गर्न दिने भनिसकेका थिए । सरकार आफ्नो अक्षमता ढाक्न अरुलाई दोष दिइरहेछ ।
(काठमाण्डु टुडेसँगकाे कुराकानीमा)