
काठमाण्डू, २२ असार– हालै एमाले राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ ।
भण्डारी भेट्न मेयर साह गत बिहीबार उनको निवास बुढानीलकण्ठ भंगाल पुगेका पुगेका थिए । भण्डारीनिकट श्रोतका अनुसार उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।
भेटमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । भण्डारी र बालेनबीच पुरानै चिनजान र सम्बन्ध छ । बालेनले भण्डारी राष्ट्रपति भएका बेला ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गतको एक आयोजनामा काम गरेका थिए ।
बालेन र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीबीच तिक्ततापूर्ण सम्बन्ध छ । उनीहरुले एकअर्काविरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका छन् ।
ओलीसँग बिच्किएका बालेनलाई मत्थर पार्ने रणनीतिअन्तर्गत भण्डारीले भेटेको हुन सक्ने आंकलन गरिएको छ ।