
काठमाण्डु, ३ मंसिर–दार्चुला जिल्लाको दुहु क्षेत्रका आधा दर्जन गाविसका स्थानीय खाद्यान्न आपूर्तिका लागि ज्यान जोखिममा पार्न बाध्य छन् । चमल किन्नु परे महाकालीमाथि तुइनमा झुण्डिएर भारतीय बजारमा पुग्नु पर्दछ । अनि फर्कदा पनि उस्तै जोखिम मोलेर बोरा ओसार्नु पर्दछ । खाद्यान्नकै लागि हप्ताको एक दिन भारतीय बजार धाउनु नपर्ने परिवार एउटै छैन ।
तर, मदिर भने गाउँगाउँमै भनेजस्ता ब्रान्डमा उपलब्ध छन् । ठाउँ–ठाउँमा पसल छन् तर त्यहाँ चामल पाइँदैन । बढी नाफा हुने भएकाले पसल सञ्चालक चामलको सट्टा मदिरा बेच्दछन् । चामल लिन दुहुबाट एक दिन हिँडी सुन्सेरा गाविसको तुइन पार गर्नु पर्दछ । त्यहाँबाट ३ घण्टामा भारतीय बजारमा पुगिन्छ । स्थानीय पसलेले चामललाई भन्दा मदिरालाई प्राथमिकता दिँदा जोखिमपूर्ण तुइन र भारतीय मार्ग प्रयोग गर्नु पर्ने बाध्यता रहेको सुन्सेराका वीरदत्त भट्टले बताए ।
सरकारले दुहु क्षेत्रका लागि सुन्सेरामा एक मात्र खाद्य डियो सञ्चालनमा ल्याए पनि त्यो सधैं खाली रहने गरेको छ । ‘डिपोमा चामलै पाइँदैन । पसलेले पनि खाद्यान्नभन्दा मदिरालाई बढी प्राथमिकता दिन्छन्’, सामाजिक परिचालक सोवनसिंह खातीले भने, ‘पहिले महिला समूहले मदिरा बेच्न रोके पनि अहिले खुलमखुला छ ।’
नागरिक दैनिकबाट