भारतीय दूतावासका बिरुवा बचाउन सरकारी टोलीे

काठमाण्डु टुडे २०७१ मंसिर २ गते २:५१ मा प्रकाशित

काठमाण्डु, २ मंसिर – लैनचौरस्थित भारतीय राजदूतावासका रुख, फूल र बिरुवा धमाधम मर्न थालेपछि उपचारबारे सुझाब दिन सरकारले विज्ञ टोली खटाएको छ । राजदूत रन्जित रेको आग्रहमा वनस्पति विभागको टोली भारतीय दूतावासमा खटिएको हो ।

विभागका महानिर्देशक यामबहादुर थापाको नेतृत्वको टोलीले सोमबार राजदूत निवास वरपर रहेका फूल, बिरुवा तथा रुखमा लागेका रोगबारे जानकारी लियो ।

टोलीमा वरिष्ट वन तथा वनस्पतिविज्ञ, अनुसन्धान विभागका प्याथोलोजिस्ट, नार्कका एन्टोमोलोजिस्टलगायत सहभागी थिए । राजदूत रेले सरकारी टोलीसँग दूतावासको महत्त्वपूर्ण र ऐतिहासिक फूल तथा बिरुवा मर्न थालेकोमा चिन्ता व्यक्त गर्दै रोग पहिचान गरी बचाउने उपाय खोज्न आग्रह गरेका थिए ।

सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूतावास क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम भएपछि राजदूत रेलगायत दूतावासका कर्मचारी रुख–बिरुवाको संरक्षणमा जुट्न थालेका हुन् ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us