आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् मुक्त कमैया

काठमाण्डु टुडे २०७१ मंसिर १ गते २:०७ मा प्रकाशित

 कञ्चनपुर, १ मंसिर– जिल्लाको कृष्णपुर–२ बङ्कमा बस्दै आएका मुक्त कमैया परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

खानेपानीका लागि गाडेका अधिकांश ह्यान्डपम्पमा आर्सेनिक आउन थालेपछि मुक्त कमैया परिवारलाई खानेपानीको समस्या भएको हो ।

मुक्त कमैया लाहुरे डगौराले बस्तीका अधिकांश ह्यान्डपम्पमा आर्सेनिकको समस्या रहेको बताए । ‘शुद्धपानी पिउने व्यवस्था नहुँदा आर्सेनिकयुक्त पानी पिउँदा रोग लाग्ने थाहा हुँदाहँुदै पनि सो पानी पिउन बाध्य छौँ’, उनले भने ।

गैरसरकारी संस्थाको सहयोगमा तीन वर्षअघि यहाँका ह्यान्डपम्पको पानी जाँच गर्दा आर्सेनिक फेला परेको थियो ।

संस्थाका कर्मचारीले पानी पिउन योग्य नभएका ह्यान्डपम्पमा चिह्न लगाएर गए पनि बाध्यतावश पानी पिउनु परेको तेजबहादुर चौधरीले बताए । बस्तीमा बस्दै आएका ९६ परिवारमध्ये ४० भन्दा बढीको ह्यान्डपम्पमा आर्सेनिकको समस्या रहेको छ ।

शुद्ध पिउने पानीको व्यवस्था गरिदिन भन्दै गाविस, जिविस र सभासद्लाई आग्रह गरे पनि सुनवाइ हुन नसकेको चौधरीले दुःखेसो पोखे ।  २०६१ सालदेखि बस्दै आएका मुक्त कमैया परिवारले आधारभूत सेवासुविधाबाट समेत वञ्चित भएको बताएका छन् ।

बस्तीका सात घरबाहेक अन्यका घरमा शौचालय नहुँदा पूर्व पश्चिम राजमार्ग पार गरेर शौचका लागि मुक्त कमैया परिवार सामुदायिक वनमा छिर्ने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us