
काठमाण्डु, १ मंसिर– राजधानीमा आइतबार एक कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो जीवनका सडक दुर्घटना अनुभव बाँडे:
घटना: १– परिवारसहित चीतवन घुम्न जाँदा मदन भण्डारी र जिवराज आश्रितको निधन भएको स्थान दासढुंगामा चालकले झण्डै गाडी खोलामा हालेनन् । मापसे गरेका रहेछन् कि क्या हो । मैले गाडीको स्टेरिङ समातेर सडकको भित्तातिर घुमाएँ । नत्र परिवारै सखाप हुने थियौं ।
घटना: २– थानकोटबाट तल झर्दै गर्दा चालकले एकैपटक पाँच नम्बरको गियरमा लैजाँदा गाडीको एअर भ्याकुम गयो । गाडी नियन्त्रणमा आउन नसकेपछि बल्लतल्ल खुला स्थानमा गएर अड्कियो, धन्न बाँचियो ।
घटना: ३– पोखराबाट जलेश्वर जानुपर्ने थियो । चालक पनि राम्रै थिए । नजिकै विपरीत दिशबाट बसबाट आमा र बच्चा झरेका रहेछन् । बच्चा अकस्मात सडकमा आयो र गाडीको हावाको वेगले लड्यो । चितवनबाट काठमाण्डु ल्याई उपचार गराएर पठाएँ । बच्चो किचेर मरेको भए बर्बाद हुन्थ्यो ।
घटना: ४– कैलाली जाने क्रममा चालकको व्यवहारबाट म आजित भएँ । चालकले गाडी प्रतिघण्टा एक सय १० देखि एक सय २० किलोमिटरमा हाँकेपछि मलाई डर लग्यो । ‘ए भाई गाडी बिस्तारै हाँक’ भन्दा एकैपटक प्रतिघण्टा २०–३० किलोमिटरमा चलाउँथ्यो । अलि गति बढाउन भन्दा पहिले जसरी नै हाँक्थ्यो ।
घटना: ५– तीनकुनेबाट सिनामंगल आउने क्रममा स्कर्टिङको गाडी पछाडि नै रोकियो । किन रोकिएको रहेछ भन्दा गाडीले बच्चा किचेको रहेछ । त्यो बच्चाको मृत्यु भयो ।
घटना: ६– थानकोटबाट नौबिसे नपुग्दै गाडी हल्लिन थाल्यो । मैले चालकलाई गाडी रोक्न भनें । झण्डै दुई किलोमिटर पर गएपछि गाडी रोकियो । झरेर हेर्दा गाडीको नटबोल्ट सबै खसेर चक्का मात्रै बाँकी थियो । धन्न बाँचिएछ ।
अन्नपूर्ण पोष्टबाट