
काठमाण्डू, १६ असार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव गरेका छन । पूर्व प्रधानमन्त्री एवं सत्ताको प्रमुख घटक दल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका स्रोतले जानकारी दिएको छ ।
बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बस्न सकेको थिएन । केहीबेरअघि सुरु भएको बैठकमा शिक्षामन्त्री पन्तले स्थगित गर्ने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि केही विषयमा सहमति खोज्नुपर्ने भन्दै बैठक स्थगित गर्न आग्रह गरे ।
‘केही विषयमा सहमति खोज्न आवश्यक छ । पटकपटक सम्झौता भएको स्वीकार गर्नुपर्छ । थप सहमति जुटाउने गरी आजको बैठक स्थगित गरौं,’ उनले भने । असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ ।