केशव स्थापितको पार्टी प्रवेश नेपाल पक्षद्वारा ‘बहिष्कार’ !

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक – काठमाण्डु महानगरपालिकाका पूर्व मेयर तथा संघीय समाजवादी पार्टी नेता केशव स्थपित एमालेमा फर्केका छन् । एमालेमै लामो समय रहेका नेता स्थापित आइतबार बल्खुमा पुरानै पार्टीमा प्रवेश गर्दा एमालेकै माधव नेपाल पक्ष भने अनुपस्थित भएको छ ।

keshav sthapit
एमाले अध्यक्ष केपी शर्मा ओलीले माला लगाएर स्थापितलाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा ओली पक्षीय नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा लगायत उपस्थित थिए भने माधव नेपालका पक्षका पदाधिकारीहरु समेत कार्यक्रममा देखिएनन् ।
समाचार स्रोतका अनुसार नेपाल पक्षले स्थापितको पार्टी प्रवेश कार्यक्रमलाई अघोषित रुपमा बहिष्कार गरेका थिए ।

स्थापित दोस्रो संविधान सभा निर्वाचनमा काठमाण्डु–६ मा संघीय समाजवादीबाट उमेदवार थिए भने सोही क्षेत्रमा एमाले युवा नेता योगेश भट्टराई पनि उमेदवार थिए । एमालेको नवौं महाधिवेशनबाट सचिव चुनिएका भट्टराई नेपाल पक्षीय नेता हुन् ।

स्थापित एमालेमै फर्कने भएपछि सचिव भट्टराई असन्तुष्ट भएको बताइएको छ ।

२०५४ सालमा एमाले विभाजनमा वामदेव र सीपी मैनाली नेतृत्वको मालेतिर लागेका स्थापित एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकारमा काठमाण्डु विकास प्राधिकरणको प्रमुख भएको थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us