
काठमाण्डु, ३० कात्तिक– सत्तारुढ एमाले र प्रमुख विपक्षी एकीकृत माओवादीका शीर्ष नेताबीच आइतबार साँझ संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा छलफल भयो ।
बानेश्वरस्थित एमाले सभासद् डा. दुमन थापाको निवासमा भएको छलफल दुवै दल पूरानै अडानमा कायम रहपेछि बिनानिष्कर्ष सकियो ।
स्रोतका अनुसार बैठकमा एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चर्काचर्की भएको थियो । दुवै नेताले एकअर्कामाथि सहमतिविरोधीको आरोप लगाएका थिए । बैठकमा प्रचण्डले काँग्रेस–एमाले प्रस्ताव १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र जनआन्दोलनको भावनाविपरीत भन्दै स्वीकार गर्न नसकिने बताए ।
उनले काँग्रेस–एमाले संघीयता र धर्मनिरपेक्षताबाट पछि हटेको भन्दै आक्रोश पोखे । ओलीले भने सहमति भाँड्न उत्तेजक अभिव्यक्ति दिँदै हिंडेको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।
ठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले काँग्रेस र आफ्नो पार्टीले अघि सारेको सात प्रदेशको प्रस्ताव संवैधानिक समितिमार्फत छलफलका लागि संविधानसभामा लैजान गरेको आग्रह एमाओवादीले अस्वीकार गरेको जानकारी दिइन् ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुवैतर्फबाट पूर्वअडान दोहो¥याउने काम भएको बताए । ‘हामीले सहमतिमा संविधान जारी गर्नुपर्छ भन्यौं, हामी पनि सहमतिमै संविधान आओस् भन्ने पक्षमा छौं भन्ने एमालेको कुरा थियो’, श्रेष्ठले भने, ‘तर आफ्नो प्रस्ताव संविधानसभामा पठाइदिनुस् भन्ने कुरा उहाँहरुको थियो ।’
उनका अनुसार बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापतिसमेत रहेका एमाओवादी नेता बाबुराम भट्टराईले विधि, प्रक्रिया, संविधानसभा नियमावली र अहिलेसमम काम गर्ने तरिका अनुसार संविधानसभामा दल विशेषको प्रस्ताव लान नमिल्ने बताएका छन् ।