
घटना– १
दिउँसो नोकरको आरोप, राति अंकमाल
प्रधानमन्त्री माधवकुमार नेपाल कोपन गेहनमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर फर्कंदै हुनुहुन्थ्यो । म पनि कोपन हेगन गएको थिएँ । बैंककमा केही घण्टाको ट्रान्जिट थियो । माओवादीले सरकारविरुद्ध आह्वान गरेको तीन दिने हड्तालको अन्तिम दिन हुनुपर्छ । प्रचण्डले बानेश्वर चोकमा हड्ताल समापन गर्दै थिए । स्वदेश फर्कनुपर्ने । सबैतिर बन्द, हड्तालको अवस्थामा कसरी स्वदेश फर्कने भन्ने तनावमा प्रधानमन्त्री हुनुहुन्थ्यो । देशको अवस्थाले उहाँलाई दिक्क लागेको थियो ।
प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा वा फर्कंदा डिआईजीको नेतृत्वमा विशेष स्कर्टिङ गर्ने चलन छ । स्कर्टिङ गर्दा आन्दोलनकारी थप उत्तेजित हुनसक्थे । तै पनि हामी आयौं । माओवादीको बानेश्वरमा कोणसभा थियो । प्रचण्डले नोकरसँग होइन, मालिकसँग वार्ता गर्छु भनेर भारतसँग वार्ता गर्ने इच्छा व्यक्त गर्नुभयो । प्रचण्डले माधव नेपाल सरकारलाई कामदारको संज्ञा दिएर भारतलाई मालिक भन्नुभएको थियो । यो कुरा समाचारमा सुनेर माधव नेपाललाई झोक चलेछ । फोन गर्नुभयो र भन्नुभयो कि ‘तपाईंले सडकमा जथाभावी बोलेर ठीक गर्नुभएन । आउनुस् भेटेर कुरा गरौं ।’ नेपालमा यदि प्रचण्डसँग आँखा जुधाएर र औंला उठाएर सीधै कुरा गर्न सक्ने हैसियतको नेता माधव नेपाल हो । उहाँका अगाडि प्रचण्ड सचेत पनि हुने गर्नुभएको छ । प्रचण्डले नभेटौं भन्न सक्नुभएन । तर, उहाँलाई अप्ठेरो पर्यो । किनकी केही घण्टाअघि मात्र नोकरसँग वार्ता नगर्ने उदघोष गर्नुभएको थियो । त्यसैले बालुवाटार, प्रचण्ड निवास वा होटलमा भेट गर्नु ठीक हुँदैनथ्यो । ती ठाउँमा भेट्दा कुरा बाहिर आउने सम्भावना हुन्थ्यो । त्यसैले धुम्बारहीतिर एकजना व्यापारीको घरमा भेटघाटको व्यवस्था मिलाइयो ।
भेटमा थिए एमालेबाट माधव नेपाल र ईश्वर पोखरेल तथा माओवादीबाट प्रचण्ड र मोहन वैद्य । भेटघाट रमाइलो थियो । खानपिनसहितको भेटघाट भएकाले नेताहरुले रमाइलो गरेका थिए । खुला वातावरणमा कुरा भयो । त्यतिबेला प्रचण्डले माधव नेपाललाई ‘नेपालमा मलाई सबैभन्दा मन पर्ने नेता नै तपाईं हो’ भन्नुभएको थियो । माधव नेपाल कहिल्यै खानपिन गर्नुहुन्न । त्यतिबेला पनि खानुभएन । अन्तिममा छुट्ने बेलामा नेताहरुले आपसमा अंगालो मारेर समूहिक तस्बीर खिचाए ।
घटना– २
प्रचण्डको चश्मा माधव नेपालले फिर्ता गरे
सबै नेता घरघर गए । प्रचण्डले चश्मा बिर्सनुभएछ । अन्तिममा निस्केका माधव नेपालले चश्मा कोटको खल्तीमा हाल्नुभयो । भोलिपल्ट संविधानसभाको बैठक थियो । संविधानसभा भवनमा प्रचण्डलाई भेटेर माधव नेपालले सुटुक्क चश्मा दिनुभयो । प्रचण्डले मुस्कुराउँदै चश्मा समातेको दृश्यले सभासदहरु अक्क न बक्क भए । अघिल्लो दिनमात्र त्यस्तो घोषणा सुनेकाहरु माधव नेपालको खल्तीमा प्रचण्डको चश्मा देखेपछि सबैले जिब्रो टोकेका थिए ।
घटना–३
गोप्य फोटो पत्रिकामा छापिएपछि
माधव नेपाल र प्रचण्डबीच भेट भएको कुरा कसैलाई थाहा थिएन । अझ मिडियामा त आउने कुरै भएन । तीन दिनपछि एउटा दैनिक पत्रिकाले भेटको फोटो पहिलो पेजमै छापेछ । हामीलाई अचम्म लाग्यो यस्तो गोप्य फोटो कसरी बाहिर आयो ? जब माधव नेपालसँग अंकमाल गरेको फोटो छापियो, तब त्यसले प्रचण्डको दिमाग खराब गराएछ । उहाँले माधव नेपाललाई फोन गरेर पत्रिकामा फोटो छापिएकामा आपत्ति जनाउनुभयो ।
प्रचण्डको आरोप माधव नेपालले नै फोटो बाहिर ल्याएको भन्ने थियो । त्यसैत कठपुतलीको आरोप लगाएर आन्दोलन गरिरहेका बेलामा त्यस्तो भएपछि के चाहियो र ? प्रचण्ड सिराउनुसम्म रिसाउनुभयो । जुन स्वभाविक पनि थियो ।
त्यो फोटो हामीले नियतबस खिचेर दिएका थिएनौं । हामीलाई पनि चिन्ता भयो । प्रधानमन्त्रीबाट फोटो कसरी बाहिर गयो पत्ता लगाउनु भन्ने निर्देशन भयो । कुरा भएको के रेहछ भने जुन घरमा भेटघाट भएको थियो त्यो घरवालाले फोटो स्टुडियोमा प्रिन्टका लागि दिएका रहेछन् । स्टुडियो सञ्चालकले पत्रिकालाई दिएछ ।
घटना–४
बाबुरामले माओवादीको सूचना दिए
६ दिने आमहड्ताल सुरु नहुँदै माओवादीमा विवाद चर्कियो भन्ने सुनियो । खास गरी आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने बारेमा । बाबुराम भट्टराई आन्दोलन परिचालन कमिटीको संयोजक हुनुहुन्थ्यो । हड्तालको अघिल्लो दिन बाबुरामलाई हटाएर रामबहादुर थापालाई उक्त जिम्मेवारी दिइयो । इन्टेलीजेन्समार्फत यो सूचना हामीकहाँ आइपुग्यो । बाबुराम आन्दोलनको विरोधमा हुनुहुन्थ्यो । हड्तालको दोश्रो दिनसम्म हामीलाई पनि के कसो हुने हो भन्ने त्रास थियो । हड्तालको तेश्रो दिन बाबुराम र टोपबहादुर बालुवाटार आउनुभयो ।
बाबुरामले प्रधानमन्त्रीसँग ‘म बालुवाटार आएको थाहा भयो भने मेरो ज्यानमाथि खतरा हुन्छ, बाहिर लिक नहोस्’ भन्नुभएको रहेछ । प्रधानमन्त्रीले हामीलाई भन्नु भो ‘बाबुरामको कुरा यस्तो छ बाहिर नजाओस् ।’ यो कुरा प्रधानमन्त्री, गायत्री मेडम – माधव नेपालकी श्रीमती) बाबुराम, टोपबाहादुर र मलाई मात्र थाहा छ । यो कुरा म पहिलोपटक आज भन्दै छु । बाबुराम आमहड्तालको पक्षमा हुनुहुन्थेन । उहाँले प्रधामनन्त्रीलाई आस्वस्त पार्दै भन्नुभयो कि ‘तपाईं नआत्तिनुस, आन्दोलनको निर्मम पटाक्षेप हुन्छ ।’ यद्यपि उहाँको भित्री मनमा राजीनामा दिएको भए आफ्नो पनि पालो आउँछ भन्ने थियो होला ।
बाबुरामबाट पाएको सूचनाले प्रधानमन्त्रीलाई माओवादी हड्तालको अवस्था थाहा भयो । पार्टीभित्रै विवाद भएपछि हड्तालले माखो मार्दैन भन्ने उहाँले ठान्नुभयो । त्यसपछि चौथो दिनबाट उहाँ सिंहदरबार जान थाल्नुभयो । बाबुरामले सूचनाका कारण धेरै ठूलो राहत भएको थियो । पछि माओवादीले हड्ताल रोके । बाबुरामले म्यासेज पठाउनुभएको थियो । ‘समापनका दिन खुलामञ्चमा बोल्न निकै कर गरियो, तर मैले बोलिनँ ।’
घटना–५
प्रचण्डसँगको सल्लाहले कटवाल सनक्क
माधव नेपाल प्रधानमन्त्री भएको केही समयपछि गोदावरी भिजेल रिसोर्टमा माओवादी र एमालेबीच वार्ता भयो । एमालेबाट झलनाथ खनाल, प्रधानमन्त्री र माओवादीबाट प्रचण्ड, बाबुराम, मोहन वैद्य र देव गुरुङ थिए । बैठकमा प्रचण्डले हामीले नागरिक सर्वोच्चताको कुरा उठाइहाल्यौं । अब त्यत्तिकै ब्याक हुन पनि गाह्रो छ । रुक्मांगत कटवाललाई राजीनामा गराइदिनुस् भन्नुभयो । माधव नेपालका लागि त्यो कठिन कुरा थियो । जुन कुरा उठाएर विरोध गरेपछि उत्पन्न राजनीतिक परिस्थितिले उहाँ प्रधानमन्त्री बन्नु भएको थियो । फेरि त्यही ठाउँमा फर्कनु गाह्रो कुरा थियो । माधव नेपालले मान्नुभएन । आखिर दुई महिनामा जाँदैछ भने कटवाललाई किन हटाउनु भन्ने उहाँको तर्क थियो । झलनाथले पनि प्रचण्डकै समर्थन गर्नुभयो । उहाँले आर्मी चिफलाई राजीनामा गराएर दलहरुको बीचमा सहमति हुन्छ भने किन नमान्ने भन्नुभयो । कसरी हो कटवालको कानमा त्यो कुरा पुगेछ । त्यसले सम्बन्धमा चिसोपना ल्यायो । त्यसयता कटवाल र प्रधानमन्त्रीको राम्रो सम्बन्ध कहिल्यै भएन । यद्यपि प्रधानमन्त्रीले पद छाड्न कहिल्यै दबाब दिनुभएन । बेलाबेलामा असमझदारी देखिन्थ्यो । छोटो समय काम गरेका कारण असमझदारी बाहिर आएनन् ।
घटना–६
माओवादीले कठपुतलीको अर्थ नबुझेपछि
माओवादीको आमहड्ताल थियो । कामै थिएन । बाहिर निस्कने अवस्था पनि थिएन । धेरैजसो बालुवाटारमै बस्थ्यौं । आन्दोलन लम्बिँदै जाँदा हड्तालका लागि गाउँगाउँबाट ल्याइएकाहरु निराश हुने क्रम बढेको थियो । कति हावा पानी र खानपिन नमिलेर बिरामी परेका थिए । विस्तारै मानिसहरु घर फर्कन थाले । एक दिन दिउँसो प्रधानमन्त्री, मेडम, म र सचिवालयका अरु केही साथी बसेर सगरमाथा टिभी हेर्दै थियौं ।
आन्दोलनकारीहरु थानकोटतिरबाट घर फर्कन थालेको फुटेज देखाइरहेको थियो । पत्रकारले फर्कन लागेका आन्दोलनकारीमध्ये एउटालाई सोधे, ‘किन फर्कन लाग्नुभएको ? उताबाट जवाफ यस्तो आयो, ‘माधव नेपालले राजीनामा दिन्छ कि भनेर आएको, देला जस्तो लानेको हिंडियो ।’ अर्कालाई सोधियो, किन आउनुभएको, किन जान लागेको ? घर चितवन बताउने तामाङ थरका युवा थिए । उनले भने, ‘माधव नेपालको कठपुतली सरकार ढालेर हाम्रो कठतुपली सरकार बनाउन आएको, कठपुतली सरकार ढल्ने जस्तो देखिएन, त्यसैले घर जान लागेको ।’
माओवादीले माधव नेपालको सरकारलाई कठपुतली भनेका थिए । तर विचरा उनलाई कठपुतलीको अर्थ थाहा रहेनछ । उनले सोचेछन् कि कठपुतली भनेको बलियो हो । किनभने लाख हाराहारीमा मान्छेहरु काठमाण्डु आएर दबाब दिँदा पनि सरकार छाड्दैन । हामी उनको कुरा सुनेर मुर्छा परेर हास्यौं । प्रधानमन्त्री पनि बेस्सरी हाँस्नुभयो ।
बामदेवले माओवादीको समर्थन गर्दा माधव नेपाल छक्क
घटना–७
माओवादीको अनिश्चितकालिन हड्ताल चलिहरेको थियो । एक्कासि आन्दोलनको समर्थनमा एमालेका बामदेव गौतमसहित ६० जना नेताकार्यकर्ताको हस्ताक्षरमा आन्दोलनलाई समर्थन गरेको विज्ञप्ति आयो । माधव नेपालले नछाडे मुलुकमा रक्तपात हुन्छ, त्यसैले माओवादीलाई सत्ता सुम्पनुपर्छ भन्ने आशयको विज्ञप्ति थियो । माओवादीले सरकार छाड्न भन्नु उसको आफ्नो ‘पेलिटिकल आइडोलीजी’ को कुरा भयो ।
तर आफ्नै पार्टीको उपाध्यक्षको नेतृत्वमा एउटा समूहले सरकार छाड्न दबाब दिएको कुराले प्रधानमन्त्रीलाई सक भयो । उहाँले त्यो घटनालाई गम्भीर रुपमा लिनुभयो । बामदेवको विज्ञप्तिपछि प्रधानमन्त्रीलाई अप्ठेरो परेको थियो । किनकी त्यसमा भित्री रुपमा अध्यक्ष झलनाथ खनालको समर्थन थियो । झलनाथले भन्नुभयो कि ‘उहाँहरुले भनेको कुरो ठीकै भए नि प्रक्रिया मिलेन’ । यो घुमाएर बामदेवको समर्थन गरिएको कुरा थियो । माओवादी र बामदेवबीचमा साँठगाँठ भएर त्यसो भएको हुन सक्थ्यो ।
घटना–८
अख्तियार भनेपछि गिरिजा थुरुरु
दोश्रो ठूलो दल काँग्रेसको समर्थनमा माधव नेपाल सरकार बनेको थियो । किन हो किन गिरिजाप्रसादलाई अख्तियार भन्ने शब्द सुन्यो कि डर लाग्दो रहेछ । माधव नेपाल प्रधानमन्त्री भएदेखि नै अख्तियारसहित संवैधानिक निकायमा नियुक्ति गर्नुप¥यो भन्ने सल्लाह गर्नुहुन्थ्यो । गिरिजाले सधैं पन्छाई रहने । खाली ठीकै हो, पछि कुरा गरौंला मात्र भन्ने । गिरिजाप्रसाद अस्वस्थ हुनुहुन्थ्यो । एक दिन प्रधानमन्त्री भेट्न भनेर कोइराला निवास महाराजगञ्ज जानुभयो ।
मृत्युसँग लडिरहेका ‘बूढा मान्छे’ एक्कासि अख्तियारमा नियुक्ति गर्नुप¥यो भन्नुभयो, मान्छेसहित । पूर्वगृहसचिव उमेश मैनालीलाई अख्तियार प्रमुख बनाउन उहाँको जोड थियो । प्रधानमन्त्री भारत भ्रमण जाने तय भइसकेको थियो । भारतबाट फर्केपछि गरौंला भन्नुभयो । गिरिजापुत्री सुजाता परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । त्यति नै बेला उहाँले भन्नु भयो कि सुजातालाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुप¥यो । यो एकदमै अप्ठेरो कुरा थियो ।
प्रधानमन्त्रीले त्यो पनि भारतबाट फर्केपछि गरौंला भन्नुभयो । आफू उपप्रधामनन्त्री नहुने भएपछि सुजाता प्रधानमन्त्रीको औपचारिक भ्रमणमा भारत जानुभएन । यो प्रधानमन्त्रीकै अपमान थियो । केही दिनअघिसम्म बढुवा हुन्छु भन्ने पक्का रहेछ । भारतको परराष्ट्र मन्त्रालयमार्फत होटलमा दुईवटा कोठा पनि बुक भएको रहेछ सुजाताको नाममा । उहाँ नगएपछि रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला त्यो कोठामा सुते । भारतबाट फर्केको केही महिनापछि सुजातालाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाइयो । तर त्यसबाट सुशील कोइराला निकै रिसाउनुभयो । यस्तीलाई किन उपप्रधानमन्त्री बनाएको भनेर ।
घटना–९
झलनाथ माओवादी समर्थक
माधव नेपाल प्रधानमन्त्री छउञ्जेल एमाले अध्यक्ष झलनाथ खनाल हरेक कुरा माओवादीले भनेको ठीक हो भन्नुहुन्थ्यो । माओवादीले भनेका कुरा प्रायः कुरा गर्नुपर्छ भन्ने धारणा उहाँको रहन्थ्यो । यो उ भन्ने नै थिएन । अक्सर माओवादीले भनेका कुराको समर्थनमा उभिनुहुन्थ्यो । माओवादी प्रधानमन्त्रीको राजीनामा माग्ने । झलनाथ राजीनामा माग्नु ठीक हो भन्ने गर्नुहुन्थ्यो ।
माओवादीसँग उहाँको बाक्लो कुराकानी हुने गरेको सूचना हामीलाई थियो ।
माधव नेपालले छाडेपछि उहाँ प्रधानमन्त्री हुनुभयो । संविधानसभाको म्याद थप्ने बेलामा दलहरुबचि तीन बुँदे सहमति भयो । सहमतिमा प्रधानमन्त्रीले अबिलम्ब मार्ग प्रसस्त गर्ने भन्ने थियो । त्यहीअनुसार राजीनामा दिनुभयो । राजीनामा गरेको सात महिनासम्म अर्को सरकार बन्न सकेन । कामचलाउ भइसकेका प्रधानमन्त्रीलाई काम गर्न निकै अप्ठेरो थियो । तर देशलाई लगथालिंग छाडेर त्यसै बालुवाटारबाट हिंड्ने कुरा पनि भएन । संसदमा १६ पटकसम्म प्रधानमन्त्रीको चुनाव भएको त्यही बेला हो । पछि नियमावली संशोधन गरेर झलनाथ प्रधानमन्त्री हुनुभयो ।