
काठमाण्डु, १६ कात्तिक– एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका ववादित विषयमा सहमति जुटाउन दिएको म्याद सकिने अन्तिम दिन आइतबार सिंहदरबारमा समितिको बैठक डाकिएको थियो ।
पूर्वनिर्धारित समयअनुसार सभासदहरु दुई बजे बैठकमा भाग लिन दुई बजे समिति कार्यालयमा भेला भए । तर, समिति सभापति र प्रमुख तीन दलका शीर्ष नेता बैठक कक्षमा थिएनन् । सभासदहरुले भट्टराईसहित शीर्ष नेतालाई कुर्नुसम्म कुरे ।
तर हाई काढेर सभासदहरु ६ बजेसम्म प्रतीक्षा गर्दा समेत शीर्ष नेताको अत्तोपत्तो नभएपछि साना दलका सभासद रिसले आगो भए । रिसाएका सभासदको नेतृत्व गरे फोरम लोकतान्त्तिक अध्यक्ष विजयकुमार गच्छदारले । सबैले एक छिन सल्लाह गरे र निष्कर्ष निकाले कि अब यसरी हुँदैन, तीन दलको रबैयाविरुद्ध बोल्नै पर्छ । त्यसपछि उनीहरु गच्छदारको नेतृत्वमा सरासर गए राज्य व्यवस्था समितिको हलमा । जहाँ सभापति भट्टराईसहित काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता संविधानका विवादमा छलफल गर्दै थिए । सुरुमा असन्तुष्ट सभासदहरुको नेतृत्व गरेका गच्छदार कड्किए । ‘तपाईंहरुको यो के रबैया हो ? हामीलाई दुई बजे बोलाएर तपाईंहरु आफू खुसी तीन दल मात्र बसेर छलफल गर्ने ? यस्तो हेपाहा व्यवहार अब हामी सहन सक्दैनौं । तपाईंहरुको बीचमा सहमति भएन भन्दैमा हामीमाथि अपमान गर्ने ?’
त्यसपछि माले महासचिव सिपी मैनाली शीर्ष नेतामाथि खनिए । उनले आफूहरुले अकारण दिनभर कुराएर लाम खुट्टटेलाई टोकाएको भन्दै उनले आपत्ति जनाए । त्यसपछि पालैपालो अरु केही सभासद पनि चिच्याउन थालेपछि नेताहरु रातोपिरो अनुहार लगाएर यता र उता हेर्न थाले । केही नाबोली जर्याक– जुरुक उठे र सरासर समितिको कार्यालयमा आए । सबैले उपस्थिति पुस्तिकामा हाजिर ठोके । त्यसका लागि जम्मा दुई मिनेट लाग्यो । समिति सभापति भट्टराईले आज सुरु भएको बैठक सोमबारसम्म जारी रहने गरी स्थगित भएको घोषणा गरे । सभासदहरु हेरेको हेर्यै भए, नेताहरु हुरुरु बाहिर निस्किए ।
समितिको कार्यलयबाट बाहिर निस्केपछि सभापति भट्टराईले समितिले आफ्नो कार्यविधिअनुसार सहमतिका लागि बारम्बार छलफल गर्दै आएको र आइतबार अन्तिम दिन भएकाले सुरु भएपछि लगातार भएको मानिने गरी सोमबारम्मका लागि बैठक स्थगित गरिएको बताए ।