भक्तपुर, १६ कात्तिक – उद्योग मन्त्री महेश बस्नेतले देशमा बहुदल आएपछि उद्योग धरासायी बन्दै गएको बताएका छन् ।
मध्यपुरथिमीस्थित सिवर्ड कलेजले शनिबार आयोजना गरेको विद्यार्थी स्वागत एवम् बिदाइ कार्यक्रममा बोल्दै उनले देशमा बहुदल आएपछि उद्योगको क्षेत्र झन् धरासायी बनेको बताएका हुन् ।
देशमा बहुदल आएपछि शिक्षा, सञ्चार, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य विकास एवम् प्रगति भए पनि भएका उद्योग पनि बन्द हुने क्रम बहुदल आएपछि भएको उनको भनाइ थियो ।
मन्त्री बस्नेतले भने, “बहुदल आएपछि उद्योग धरासायी बन्दै गयो, बाँसबारी छाला जुत्ता उद्योगदेखि भृकुटी कागज हुँदै विराटनगर जुट मिलसमेत बन्द भए, यसको दोष त्यतिखेर सरकार चलाउनेले लिनुपर्छ ।”
औद्योगिक क्षेत्रका कैयौँ जग्गाहरु कौडीको भाउमा भाडामा दिएर दुरुपयोग गरिरहेको बताउँदै उनले बहुदल आएपछि उद्योगको क्षेत्रमा गौरव गर्ने ठाउँ नपाएको बताए । बहुदल आएपछि धेरै समय नेपाली काँग्रेस र थोरै समय एमालेले सरकार चलाएको चर्चा गर्दै उनले भने, “बहुदल आएपछि काँग्रेसको भागमा कति प्रतिशत र एमालेको भागमा कति प्रतिशत दोष छ, हात उठाएर दुवै पार्टीले स्वीकार्नुपर्छ ।”
माओवादीले देश धरासायी बनाएको, उद्योगधन्दाको विकासमा बाधा पु¥याएको आरोप लगाउँदै उहाँले माओवादी जन्माउन पनि काँग्रेस, एमालेको कति प्रतिशत भूमिका छ, त्यसको समीक्षा हुनुपर्ने जिकिर गरे ।
आफूले एक नेपाली एक–एक उत्पादनको अभियान चलाएको बताउँदै उनले भक्तपुर, मध्यपुरमै उत्पादन भएका सामग्रीहरु यहीँका बासिन्दाले प्रयोग गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिए ।
धेरै पछि भक्तपुरले मन्त्री पाएको चर्चा गर्दै मन्त्री बस्नेतले भने, “भक्तपुरको विकासमा ज्यान दिएर लाग्नेछु, भक्तपुरको शीर सधैँ उच्च बनाउने छु, भक्तपुरका बासिन्दाको शीर निहुरिने काम म कहिल्यै गर्ने छैन ।”