भारतीय आपराधिक समूहका एक सदस्य पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ८:२६ मा प्रकाशित

पर्सा, १६ कात्तिक – वीरगन्ज क्षेत्रमा विगत केही दिनदेखि आतङ्क मच्चाइरहेका भारतीय अपराधी सुनिल सिंह समूहका एक सदस्यलाई गएराति पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारणका २७ वर्षीय रामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साहलाई गएराति वीरगन्जको छपकैयामा व्यापारीलाई फोनबाट धम्की दिएर माग गरिएको रकम लिन आउने क्रममा पक्राउ गरिएको हो ।

साथै प्रहरीले साहबाट चार थान गोलीका साथै मोबाइलगायतका सामानसमेत बरामद गरेको छ । साहले विगत केही समयदेखि वीरगन्ज क्षेत्रका उद्योगी र व्यवसायीहरुलाई फोनमार्फत धम्की दिँदै आएका थिए ।

केही वर्ष पहिला वीरगन्जका व्यापारीहरुका लागि आतङ्क बनेका मुन्ना शर्मालाई भारतको मोतिहारी नजिकै सुनिल सिंह समूहले हत्या गरेको थियो ।

शर्माको हत्यापछि सुनिल सिंह समूह वीरगन्जमा आफ्नो आपराधिक पहँुच स्थापित गर्न सक्रिय भएको बताइन्छ । यसअघि प्रहरीले गत असोज २२ गते पर्साको मिर्जापुरबाट व्यापारीहरुलाई टेलिफोनमार्फत धम्की दिएर रकम असुल्दै आएको आरोपमा मिर्जापुर–५ निवासी ३२ वर्षीय जीतेन्द्र गिरीलाई पक्राउ गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us