काठमाण्डु, १५ कात्तिक दोस्रो संविधानसभा निर्वाचन २०७० को निष्पक्षतामा प्रश्न उठाइएपछि छानबिन गर्न गठित सात सदस्यीय संसदीय विशेष समितिले चुनावको एक
वर्षपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ ।
चुनावी परिणाम सार्वजनिक भएपछि एमाओवादीले धाँधली भएको भन्दै छानबिन संयन्त्र गठन नभएसम्म संविधानसभा बहिष्कार गर्ने घोषणा गरेको थियो ।
माग सम्म्बोधन गर्न कांग्रेस एमाले राजी भएपछि एमाओवादी संविधानसभामा सहभागी भएको थियो । गत माघमा दलहरूबीच भएको सहमतिअनुसार जेठ ३० गते संसद्ले छानबिन समिति गठन गरेको थियो ।
समितिलाई धाँधली भएन भएको छानबिन गरी निर्वाचन स्वच्छ र निष्पक्ष बनाउने विषयमा सुझाव दिन भनिएको थियो । चुनाव भएको ६ महिनापछि समिति बनाइएको र छानबिन काम पनि सुस्त भएकाले प्रतिवेदन ढिला आउने भएको हो । समितिले दोस्रोपटक पाएको म्यादभित्र प्रतिवेदन बुझाए पनि निर्वाचन भएको एक वर्ष काट्नेछ । समितिका सदस्यहरू पनि मंसिरभन्दा अघि प्रतिवेदन तयार नहुने बताउँछन् ।
असार ९ गतेबाट औपचारिक काम थालेको समितिले पहिलो तीन महिनामा कुनै काम गर्न नसकेपछि दोस्रोपटक तीन महिनाका लागि म्याद थपिएको छ । समितिले कानुनी, प्राविधिक र सुरक्षाका सबै पक्ष हेर्नुपर्ने भएकाले समय लाग्ने भएको हो ।
अन्नपूर्ण पोष्टबाट