काठमाण्डु, १५ कात्तिक- पार्टी नेताकै उक्साहट र संलग्नतामा जिल्ला तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत नेकपा माओवादीका तल्ला कमिटीहरुले
केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् ।
आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि एमाओवादीमा संस्थापन र असन्तुष्ट दुवै पक्षले एकले अर्को पक्षमाथि कारबाहीको माग गर्दै नेतृत्वलाई दबाब दिन थालेका छन् ।
धनुषा, नुवाकोट, रसुवा, चितवन, काठमाण्डु, गोरखा, बारा, पर्सा, मुगु, डडेलधुरालगायत झन्डै दुर्इ दर्जन जिल्लामा एमाओवादीको समानान्तर समिति गठन भएको छ । ती जिल्लामा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई पक्षका अलगअलग जिल्ला समिति छन् । दुवै पक्षले एकै शैली अनुसरण गर्दै केन्द्रीय सदस्यलाई कारबाहीको मागसहित केन्द्रीय कार्यालयमा सिफारिस पठाउन थालेका छन् ।
अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी, गंगानाराण श्रेष्ठ, सोनामसिंह स्याङतान, रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । यस्तै भट्टराई पक्षले नारायण दाहाल र हितबहादुर तामाङमाथि कारबाहीको सिफारिस गरेको छ ।
केन्द्रीय नेताले नै समानान्तर भेला गर्ने, तल्लो तहका नेता तथा कार्यकर्तालाई बहकाउने, उक्साउने र पार्टीलाई फुट र विभाजनतर्फ लैजान आफ्नो जिम्मेवारीभन्दा बाहिर गई विधि–पद्धति उल्लंघन गरेकाले कारबाहीको सिफारिस गर्नु परेको दुवै पक्षका जिल्ला नेताले जिकिर गरेका छन् ।