काठमाण्डु, १४ कात्तिक–सत्तारुढ नेपाली काँग्रेस र एमालेले सहमतिद्वारा संविधान जारी गर्ने सम्भावना समाप्त भएको बताएका छन् ।
सहमतिको सम्भावना सकिएसँगै प्रक्रियाद्वारा संविधान जारी गर्नुपर्ने ती दलको भनाइ छ । सहमति प्रयासमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा काँग्रेस–एमालले सहमतिको सम्भावना सकिएकाले प्रक्रियामा जानुपर्ने बताएका हुन् ।
‘सहमतिमा संविधान जारी हुने सम्भावना रकियो’, बैठकपछि काँग्रेस नेता एवम् अर्थमन्त्री रामशरण महतले भने, ‘दलहरुबीच सहमति नभएपछि सार्वभौम संविधानसभामा जानुको विकल्प छैन ।’
एमाले महासचिव ईश्वर पोखरेलले पनि सहमतिको सम्भावना अत्यन्तै कमजोर बनेको गएको प्रतिक्रिया दिए । यद्यपि सहमतिका लागि अन्तिमपटक कोसिस गरिने उनले बताए । पोखरेलले एमाओवादीले लचकता नअपनाएका कारण सहमति जटिवल बन्दै गएको आरोप लगाए । ‘एमाओवादी अडानबाट लचक नभएका कारण सहमति जटिल बन्दै गएको छ’, पोखरेलले भने, ‘माओवादी माघ ८ गते संविधान जारी गर्ने कुरालाई प्रभावित पार्न चाहन्छ ।’
उनले काँग्रेससहित समान धारणा भएका दलहरुसँग छलफल गरी संवाद समितिमा अलग प्रस्ताव दर्ता गर्ने तयषरी भएको जानकारी दिए । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति प्रयास जारी रहेको बताए । उनले विवादित विषयमा सहमति वा अन्य विकल्पबाट अघि बढ्ने भन्ने विषयको टुंगो शनिबार प्रमुख तीन दल र सभामुखसहित छलफल गरेर लगाइने जानकारी दिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेस–एमाले चलक नभएका कारण सहमति नभएको आरोप लगाए । श्रेष्ठले तीन पार्टीका तीन नेता, सभामुख, संवाद समिति र मस्यौदा समितिका सभापतिसमेतको उपस्थितिमा शनिबार पुनः छलफल हुने जानकारी दिए ।
बबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको पछिल्लो पटक थपिएको म्याद शनिबार सकिंदैछ । समितिको म्याद फेरि थप्ने वा नथप्ने भन्नेमा दलहरु विभाजित छन् ।
सत्तारुढ काँग्रेस–एमाले सहमतिका नाममा समय खेर फाल्न नहुने भन्दै प्रक्रियामा जानुपर्ने अडानमा छन् । एकीकृत माओवादी र मधेसवादी दलसहित प्रतिपक्षी भने सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।