धनगढी, १४ कात्तिक– एमाले कैलालीका पदाधिकारीबीच कार्यसमिति सदस्यहरूको मनोनयनका विषयलाई लिएर तीव्र विवाद चर्किएको छ ।
जिल्ला अध्यक्ष दीर्घ सोडारीले पार्टी विधान र पद्धतिविपरीत गत भदौमा आठ जनालाई कार्यसमितिमा मनोनित गरेको भन्दै अन्य पदाधिकारी असन्तुष्ट देखिएपछि विवाद बढेको हो ।
विवाद बढ्दै जाँदा बिहीबार डाकिएको जिल्ला कार्यसमिति बैठक जिल्ला उपाध्यक्ष रतन थापा, सचिव रणबहादुर चन्द, सहसचिव नेपाल चौधरी, सदस्य विष्णु चन्द, सचिवालय सदस्य यज्ञराज बाँस्तोलालगायत पदाधिकारीले बैठकसमेत बहिष्कार गरेका छन् ।
पद्धति र प्रक्रिया मिचेर मनोनित गरिएका पदाधिकारीलाई केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलको उपस्थितिमा वैधता दिन बैठक डाकिएकाले आफूहरूले बैठक बहिष्कार गरेको सचिवालय सदस्य बाँस्तोलाले बताए ।
जिल्ला अध्यक्षले मनोमानी ढङ्गले कार्यसमिति सदस्यलाई मनोनीत गरेका कारण कार्यसमितिमा विवाद बढेको जानकारी केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावललाई गराइएको बाँस्तोलाले बताए । जिल्ला कार्यसमितिको बैठकमा केन्द्रीय उपाध्यक्ष रावल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
पार्टीका पदाधिकारीबीच उत्पन्न विवादबारे जानकारी लिन पटकपटक प्रयास गरिए पनि जिल्ला अध्यक्ष सोडारी सम्पर्कमा आउन चाहेनन् । एमाले जिल्ला कार्यसमिति ७२ सदस्यीय छ ।