पार्टीमा एकलौटी गरेको भनेपछि बल्खुमा ओली र नेपालको दोहोरी

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ९:५३ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टी मुख्यालयमा दोहोरी चलेको छ । शुक्रबार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटीको बैठकमा नेता नेपालले लिखितरुपमा ध्यानाकर्षण प्रस्ताव पेश गरेपछि दुई नेताको प्रश्नोत्तर चलेको हो ।

kp- madhavबैठकमा अध्यक्ष केपी ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे मौखिकरुपमा संक्षिप्त मन्तव्य दिएका थिए । ओलीले आफ्नो कुरा राखिरहेका बेला नेता नेपालले उठेर एकलौटी पारामा पार्टी नचल्ने भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।

नेता नेपालले ५ – ६ पृष्ठको लिखित ध्यानाकर्षण प्रस्ताव नै अध्यक्ष ओलीलाई बुझाएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ध्यानाकर्षण पत्रमा नेता नेपालले ओली पक्षधरहरुको पार्टीमा हालीमुहाली चलेको आरोप लगाएका छन् ।    सुकुम्बासी आयोग गठन गर्दा एकलौटी गरेको, ओली गुटकालाई मात्र समेटेको, व्यवस्थापिका संसदका सभापतिमा पनि मनोमानी गरेको र मन्त्री नियुक्ति र हटाउने क्रियाकलापमा पनि एकलौटी गरेको आरोप लगाएका छन् ।

माधव नेपालले आक्रोश पोखिसकेपछि अध्यक्ष ओलीले तपाईको प्रस्ताव प्राप्त भयो, यसलाई पनि समेटेर राजनीतिक प्रतिवेदन ल्याउँछु भन्ने जवाफ दिएका थिए । त्यसपछि अर्को बैठक कात्तिक १८ गते बस्ने भन्दै ओलीले बैठक स्थगनको घोषणा गरेको स्रोतले बतायो ।

पार्टीका आन्तरिक कुरामा विवाद बढ्ने देखएपिछि केन्द्रीय कमिटी बैठक १८ गतेसम्मका लागि स्थगित भएको हो ।

स्थायी सदस्य, पोलिटब्यूरो र कुनै पनि कार्य विभाजन नभएका बेला एकल तरिकाले निर्णय गरेर पार्टीलाई धरासायी बनाएको भन्दै नेपाल पक्षले संस्थापन पक्षको विरोध गर्दै आएको छ ।

मन्त्रीबाट कर्ण थापा र भीम आचार्यलाई बर्खास्त गरी अरु मन्त्री थप्नुको कारण नेता नेपालले माग गरेको एक केन्द्रीय सदस्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us