
जेनेभा, १३ कात्तिक – इबोला प्रकोपको सङ्क्रमण सुरुवात भएको पश्चिम अफ्रिकी देश लाइबेरियामा यसको प्रकोप कम भएको पाइएको छ ।
विश्व स्वास्य संगठनले दिएको जानकारीअनुसार हालैका दिनमा त्यहाँ गरिएको निगरानीको निकै कडा कदमका कारण त्यहाँ पछिल्लो समयमा यसको प्रकोपमा कमी आएको हो ।
प्रकोपमा कमी आएको पाइएको बताउँदै तर पनि यसको खतरा भने कायमै रहेको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले जनाएका छन् ।
उक्त संस्थाका अनुसार सुरुवातका दिनहरुका तुलनामा पछिल्लो समयमा यसको प्रकोप घटेको तर यसको खतराबाट नागरिकले उन्मुक्ति पाएको भने होइन ।
विश्व स्वास्थ्य संगठनका उपमहानिर्देशक ब्रस आइलवार्डले सो विषयमा जानकारी दिएका छन् । उनले यसलाई सकारात्मक प्रगतिका रुपमा हेरिनुपर्ने धारणा पनि राखेका छन् ।
उनले भनेका छन्– महामारीका रुपमा लाइबेरियामा फैलिएको यसको प्रकोपमा पछिल्लो समयमा केही कमी आएको छ ।
तर यो नियन्त्रणको अवस्थामा पनि आएको छैन । उनले भनेका छन्– यसैलाई नागरिकले इबोला नियन्त्रण भयो भन्ने सूचनाका रुपमा नलिउन् ।
उपमहानिर्देशक ब्रसले भने– यो यदि नियन्त्रण नै भएको भएपनि नियन्त्रणभित्र रहेको बाघको बच्चाजस्तै हो कुनैदिन फेरि फैलिइहाल्छ ।
मृत्युहुने करिब पाँच हजार
यसैबीच विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको एक तथ्याङ्कअनुसार इबोलाको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार हजार ९२२ पुगेको जनाइएको छ ।
इबोला भाइरसले गत हप्तासम्ममा विश्वका चार हजार ९२२ नागरिकको ज्यान लिइसकेको छ । यसले विशेषगरी पश्चिमी अफ्रिकी देशहरुमा ठूलो महामारीको रुप लिइरहेको छ ।
यो सङ्क्रमण अमेरिका, युरोप तथा विश्वका कतिपय स्थानमा देखिइसकेको छ । यसबाट सबैभन्दा बढी पीडित अफ्रिकी देशहरु नै रहेका छन् ।
विश्व स्वास्थ्य संगठनले आगामी केही समय यसको फैलावट झनै खतरनाक हुँदैजाने भन्दै यसको आतङ्क रोक्नका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।
सो सङ्क्रमणबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या १३ हजार ७०३ पुगेको पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारमा तीमध्ये अधिकांश अहिले पनि उपाचारकै क्रममा रहेका बताइएको छ ।
यो सङ्क्रमणले अमेरिकामा पनि एकजना चिकित्सकर्मीको ज्यान लिएको छ । चिकित्सकहरुले यसको सङ्क्रमण थप बढ्नसक्ने भन्दै विशेष सतर्कता अपनाउन विश्वका सरकारहरुसँग आग्रह गरिरहेका छन् ।
अस्पतालमा बिरामी भर्ना गर्न पनि चिकित्सकहरु डराइरहेका छन् । जसका कारण अफ्रिकी देशहरुको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताइएको ।
साथै यस सङ्क्रमणबाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या २४४ पुगेको छ । विश्वका विभिन्न देशमा पछिल्लो समयमा ठूलो सङ्क्रमणका कारण ती स्वास्थ्यकर्मीको ज्यान गएको बताइएको छ । ज्यान जानेमा चिकित्सक, नर्स र अन्य स्वास्थ्य कार्यकर्ताहरु रहेका छन् ।
सो संगठनले उक्त सङ्क्रमणबाट ४५० जना संक्रमित भएका छन् । तीमध्ये अधिकांशको उपचार जारी रहेको पनि समाचारमा जनाइएको छ ।
उपचारका क्रममा पनि सो सङ्क्रमण सर्ने भएकाले चिकित्सकहरु पनि डराउने गरेका छन् । यसै रोगको त्रासका कारण कतिपय देशमा उनीहरुले आफ्नो पेसा नै छोडेर भागेका समाचार पनि आइरहेका छन् । एएफपी