काठमाण्डु, ३० असोज – सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई चेतावनी दिएका छन् ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छलफल नै नगरी सुकुम्बासी समस्या समाधान आयोग खारेजीको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले चेतावनी दिएका हुन् ।
एकतर्फी प्रस्ताव भन्दै एमालेका मन्त्रीहरुले विहीबारको मन्त्रिपरिषद बैठक बहिस्कार गरेका थिए ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा कुनै जानकारी नदिई प्रधानमन्त्रीको तर्फबाट त्यस्तो प्रस्ताव आएपछि आफूहरु बैठक छाडेर हिँडेको भूमिसुधार मन्त्री दलबहादुर रानाले बताए ।
एमालेले सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रदेखि जिल्ला सम्म एकलौटी गरेको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला विहीबार थप विवाद भएको हो ।
सरकारमा एमालेको नेतृत्व गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम नभएका बेला यस्तो प्रस्ताव आएपछि एमाले मन्त्रीहरु अलमल्ल परेका थिए ।
पार्टीसँग सल्लाह नगरी यो निर्णयमा सहभागी नहुने भन्दै एमालेका मन्त्रीहरु बैठक बहिस्कार गरेर हिँडेको स्रोतले जनाएको छ ।