धादिङ, ३० असोज– एकजना बाबुले जुम्ल्याहा छोरालाई घरभित्र थुनेर आगो लगाएका छन् ।
आगो लागेका नाति च्यापेर बालकका हजुरबाबु उपचार सहयोग माग्दै धादिङबेसी आइपुगेका छन् । धादिङको नलाङ गाविस–६ बैरेनी पहरेका बलबहादुर विश्वकर्माले जुम्ल्याहा छोरा राम र लक्ष्मणलाई घरभित्र थुनेर घरमा आगो लगाइदिएको बालकका हजुरबुबा चक्रबहादुर विश्वकर्माले बताए ।
७० वर्षीय चक्रबहादुर घाइते दुई नातिको उपचार र सहयोग खोज्दै सदुमुकाम धादिङबेसी आइपुगेका हुन् । चक्रबहादुरले भने,‘आफ्नै बाउ अधर्मी भएपछि कसको के लाग्दो रहेछ र ? रक्सीले मातेको बेलामा बच्चाहरुलाई घरभित्र थुनेर आगो लगायो । तर एउटा नातिको पाखुरो र टाउको आगोले जलायो ।’
आगोले पोलेर लक्ष्मणको हात ,पाखुरा, कुम र टाउको नराम्ररी जलेको छ । आफूसँग भएको पैसाले सामान्य उपचार गरेको र थप उपचारका लागि सहयोग खोज्दै सदरमुकाम आएको चक्रबहादुरले बताए ।
बालककी आमालाई पनि बलरामले सधै रक्सी खाएर कुटपिट गर्ने गरेकाले उनी नानीहरुलाई अलपत्र छाडेर अन्यत्र गएकी छन् ।