सुनसरी घटनाबारे सरकारको अपिल : उत्तेजना र भ्रामक सूचना नफैलाउन आग्रह

काठमाण्डु टुडे २०८३ साउन १२ गते २२:३८ मा प्रकाशित

काठमाडौं — सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो ।

प्रधानमन्त्री कार्यालयका सह-सचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको जानकारी दिइएको छ ।

घाइतेहरूको उपचारको जिम्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिने गरी आवश्यक प्रबन्ध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयमार्फत समिति गठन गरिएको जनाएको छ ।

उक्त समितिले घटनाको वास्तविक अवस्था अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्नेछ । समितिले काम सुरु गरिसकेको पनि सरकारले जनाएको छ ।

सरकारले घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषी देखिएकामाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

‘उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध छ। कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतः विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना फैलाउने तथा भ्रामक सूचना सम्प्रेषण नगर्न पनि सबै पक्षलाई आग्रह गरेको छ ।

‘नेपाली समाजले सदियौंदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने तथा धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा असर पार्ने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन नेपाल सरकार सम्बद्ध पक्षमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले मुलुकमा शान्ति सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us