जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामी चेतावनी हटाइयो
टोकियो — जापानमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।
जापान मौसम विज्ञान निकायका अनुसार दक्षिणी जापानको क्युशु क्षेत्रमा ७.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो ।
भूकम्पको केन्द्र क्युशु क्षेत्र आसपास रहेको बताइएको छ ।
भूकम्पपछि प्रभावित क्षेत्रमा भवन, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
स्थानीय अधिकारीहरूले क्षतिको विवरण संकलन र उद्धारको काम अघि बढाएका छन् ।
भूकम्पपछि समुद्री क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो । तर ठूलो जोखिम नरहेको भन्दै केही समयपछि उक्त चेतावनी हटाइएको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पका कारण केही क्षेत्रमा विद्युत् तथा यातायात सेवामा असर परेको बताइएको छ ।
प्रभावित क्षेत्रमा परकम्प आउन सक्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।
जापान विश्वकै भूकम्पीय जोखिम बढी भएका देशमध्ये एक हो ।