प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शाहीले नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ गरी २३ जना प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए ।
कर्णाली प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ ।
एमालेका यामलाल कँडेलले गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
सोही आह्वानअनुसार शाहीले बहुमत सदस्यको समर्थन जुटाएर सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद रहेका छन् ।
मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) को उम्मेदवारका रूपमा निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
मुख्यमन्त्री नियुक्त भएसँगै उनले अब संविधानबमोजिम तोकिएको समयभित्र विश्वासको मत लिनुपर्नेछ ।
शाही कर्णाली प्रदेश स्थापना भएयताका पाँचौं मुख्यमन्त्री हुन् ।